त्रिवेणी कपको पुरस्कार राशि ८ लाख 



लमजुङ। 

लमजुङको सदरमुकाम समेत रहेको बेसीशहरमा जिल्लाकै सर्वाधिक धनराशि त्रिवेणी कप सञ्चालन हुने भएकोे छ । मंगलबार बेसीशहर स्थित गेट्वे हिमालय रिसोर्टमा पत्रकार सम्मेलन गर्दे पुस १२ गतेबाट हुने ३१ औं  त्रिवेणी कपको जानकारी गराएको हो ।

जिल्लामा फुटवल खेलको विकास र प्रवद्र्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, ओझेलमा परेका प्रतिभाशाली खेलाडीहरुको प्रतिभा उजागर गर्न, राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न, जिल्लाको व्यापार व्यावसय प्रर्वद्धन गर्न, खेल पर्यटनको विकास र यूवाहरुलाई अनुशासीत र मर्यादीत बनाउनका लागि त्रिवेणी यूवा क्लबले बेर्षेनी ठूलो पुरस्कार राशिको त्रिवेणी कप सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए।

अगामी पुस १२ गतेबाट जिल्लास्थित सहजी खेलमैदानमा सञ्चालन हुने ३१ औँ त्रिवेणी कपमा १६ देखि २० टिमको सहभागिता गराउने क्लबले जनाएको छ । लमजुङ, मनाङ, गोरखा, तनहुँ, चितवन, कास्की, नवलपुर, काठमाडौँ लगायतका जिल्लाहरुबाट फुटबल खेल्नलाई खेलाडीहरु बर्षेनी आउने गरेको क्लबले जनाएको छ ।

२०४९ सालमा क्लब गठन गरी खेतका गराहरु भाडामा लिई १ वटा खसी र ३ हजार राशि राखी सुरु गरिएको त्रिवेणी कप अहिले जिल्लाकै सबैभन्दा बढी  पुरस्कार राशिको फुटबल प्रतियोगिताको रुपमा स्थापित भएको क्लबले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई आठ लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दितिय हुने टिमलाई चार लाख रुपैयाँ, रजत पदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।

त्यस्तै, सेमिफाइनल उपविजेता दुवै टिमलाई एक-एक लाख रुपैयाँ पुरस्कार वितरण गर्ने क्लबले जनाएको छ । क्लबका अनुसार त्रिवेणी कप फुटबल प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद २०-२० हजार रुपैयाँ स्वर्ण पदक र प्रमाणपत्र वितरण गर्ने भएको छ । ३१ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता सञ्चालन गर्नका लागि ४७ लाख १० हजार रुपैयाँ खर्च हुने आयोजक त्रिवेणी क्लबले जानकारी दिएको छ ।

क्लबले यसबर्षको त्रिवेणी कप सञ्चालनको लागि ४७ लाख १० हजार हुने अनुमानित खर्च हुने जनाएको छ । गत बर्ष पुरस्कार राशि ५ लाख रुपैयाँ थियो । साथै क्लबले १५ पसका दिन त्रिवेणी साँझ समेत सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्