केही दिनभित्रै सुकुम्बासी समस्या समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेकपा (माओवादी केन्द्र) को बेवसाइट सार्वजनिक गर्दै प्रधामन्त्री दाहालले सुकुम्वासी समस्या हल हुने दाबी गरे। उनले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिए ।

“सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ”, प्रधानमन्त्रीले भने ।

सो ऐनको संशोधनपछि विकास निर्माण र लालपूर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।

सरकारका तर्फबाट देश र जनताको पक्षमा राम्रो काम गर्ने इमान्दार प्रयास भएको बताउँदै प्रधानमन्त्रीले मिटरब्याज पीडितको समस्या समाधान गर्न प्रयास गरिएको, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति, भूमाफियालाई कारबाही, नक्कली भूटानी शरणार्थी प्रकरणमा हस्तक्षेप र तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार भएको दाबी गरे ।

नेपालको राष्ट्रिय पहिचानलाई सुदृढ गर्न सरकार गम्भीर रुपमा लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, इटालीलगायतको भ्रमण सहयोगी बनेको स्पष्ट पारे । फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपाल डरलाग्दो स्थितिमा पुगेकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको र संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गर्नुभएको उल्लेख गरे । विकसित राष्ट्रले नेपाललगायत देशलाई उपलब्ध गराउने भनेर यसअघि जनाएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएकाले यस पटकको कोप–२८ मा त्यसबारेमा गम्भीर ध्यानाकर्षण गराइने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले सरकारले बुढीगण्डकी, कर्णाली चिसापानीलगायत ठूला आयोजनाको काम अगाडि बढाएको सो अवसरमा जानकारी दिए । बुढीगण्डकी आयोजनाका लागि मात्रै पूर्वाधार करमार्फत उठ्ने रकम जम्मा गर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ । कर्णाली चिसापानी आयोजनाको अध्ययन अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइएको प्रधानमन्त्रीको कथन छ । सरकारले जटिलताकाबीचमा पनि विकास निर्माणको कामलाई गति दिने प्रयास गरिएको उनले जानकारी दिए ।

नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिइएको भए पनि कार्यान्वयनमा आउन नसकेको सन्दर्भमा मन्त्रिपरिषद्बाट कार्यान्वयनमा लगिएको जानकारी दिँदै प्रधानमन्त्रीले त्यसबाट काठमाडौँ उपत्यकाका नेवार समुदायका अगुवाले सरकारलाई धन्यवाद दिएको बताए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको सही प्रयोग गरेर मात्रै पार्टीलाई जनताका माझ थप लोकप्रिय बनाउन सकिने बताए । उनले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गरे ।