मिटर बिना पालिकाले जडान गरेको टावर लाइटको लाइन काट्न  सुरु



रौतहट ।

 नेपाल विधुत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले मिटर बिना नै जडान गरिएको हाइमाईस लाइटको लाइन काटेको छ । तीन दिन यता मात्रै चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाले डाइरेक्टर हुकिङ्ग गरेर जडान गरेको ६१ वटा हाईमाईस लाइटको लाइन काटेको छ ।  चन्द्रपुर नगरपालिकाको ३७, गुजरा नगरपालिकाको ७ र वृन्दावन नगरपालिकाको १७ वटा हाईमाईस लाइटको लाइन काटेको हो ।

 सडकको चौबाटो, खेल मैदान, मन्दिर, शैक्षिक संस्थालाई लक्षित गरी रौतहटको १८ वटै पालिकाले मिटर बिना नै सडक बती-टावर लाईट-हाईमाईस लाईट जडान गर्न थालेपछि नेपाल विधुत् प्राधिकरणको विभिन्न वितरण केन्द्रले अभियानकै रुपमा काट्न  थालेको छ । पछिल्लो समयमा पालिकाहरुले उज्यालो अभियान भन्दै नेपाल बिधुत प्राधिकरणसँग अनुमति नलिकनै सिधै हुकिङ्ग गरेर जडान गर्न थालेपछि नेपाल बिधुत प्राधिकरणका विभिन्न वितरण केन्द्रले पहिलो चरणमा लाइन काटेको जनाएको छ ।

 काटिएका लाइन जडान गरी विधुत् उपभोग गरेमा लाईटनै जफत समेत गर्ने नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादबले बताए । नेपाल विधुत् प्राधिकरणले पालिकालाई पटक पटक मिटर जडान गर्न र बक्यौता रकम तिर्न ताकेता गरेपनि पालिकाको बेवास्ता रहेपछि लाइन काट्ने अभियानमा प्राधिकरण रहेको हो ।

नेपाल विधुत् प्राधिकरणले कार्तिक मसान्त भित्र सडक बती-टावर लाईटबाट उठेको महशुल बुझाउन पालिकालाई सुचना जारी गरेको थियो । दोस्रो पटक मंसिर ६ गते एक साताको समय दिए पनि अवैध जडान गरिएको लाइन काट्न थालिएको नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख यादबले बताए । नेपाल विधुत् प्राधिकरण, बिधुत महशुल संकलन बिनियमाबली ०७८ को बिनियम १० को प्रावधान बमोजिम गरिएको नेपाल विधुत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्