मानवीय सेवाका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं

0
Shares

वसन्त बस्नेत मेयर त्रियुगा नगरपालिका, उदयपुर

क्षेत्रफलका हिसाबले कोशी प्रदेशको सबैभन्दा ठूलो नगरपालिकाका रूपमा रहेको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत विकास निर्माणमा जुझारू नेताका रूपमा चिनिनुहुन्छ । प्रस्तुत छ, सधैं जनताको साथमा साथ दिएर नगरको विकासमा अहोरात्र खटिएका उहाँसँग जिल्ला संवाददाता माधव पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश :

सेवा प्रवाहमा कस्ता विषयलाई प्राथमिकता दिएर काम गर्नुभएको छ ?

त्रियुगा नगरपालिकाले खास गरी मानवीय सेवाका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । स्वास्थ्य, शिक्षा, महिला बालबालिकाका क्षेत्रमा, जनताका दैनिक जीवनका समस्यालाई ध्यान दिएका छौं । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नै सुरक्षित रूपले सुत्केरी गराउन निःशुल्क दुई थान एम्बुलेन्सको व्यवस्था गरिएको छ । सामाजिक भत्तामा एकल रूपमा रहेका महिला र पुरुषलाई निःशुल्क सेवा दिने प्रयास भएको छ । कलेज पढ्दै गरेका सीमान्तकृत वर्गका छात्रालाई त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा स्नातकोत्तरसम्मको शिक्षामा छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न कस्तो रणनीति अवलम्बन गर्नुभएको छ ?

वार्षिक नीति तथा कार्यक्रम बनाउँदा विभिन्न पक्षसँग छलफल गरेर कार्यपालिका सदस्यसँग, नगरपालिकाभित्रका विविध समस्या, आवश्यकता र प्राथमिकताका आधारमा विषय विज्ञहरुसँग छलफल गरेर सहमतिका आधारमा योजना बनाएकाले कार्यान्वयन सहज रूपले हुनेछ । कुनै–कुनै विषयमा सम्बोधन गरेर सहमतिका आधारमा कार्यान्वयन गर्दै लैजान्छौं ।

खास गरी मानवीय सेवाका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । स्वास्थ्य, शिक्षा, महिला बालबालिकाका क्षेत्रमा, जनताका दैनिक जीवनका समस्यालाई ध्यान दिएका छौं ।

त्रियुगालाई देशकै नमुना पालिका बनाउन के योजना बनाउनुभएको छ ?

त्रियुगालाई देशकै नमुना नगरपालिका बनाउन विषय विज्ञहरुसँग छलफल तथा स्थानीय तहका विकास विज्ञसँग परामर्श गरेका छौं । नमुना नगर बनाउन गुरु योजना बनाएर समृद्ध नगरका रूपमा विकास गर्ने योजना रहेको छ ।

त्रियुगाको बेरुजु र सार्वजनिक खरिदको अवस्थाचाहिँ कस्तो छ ?

नगरपालिकाले लेखासम्बन्धी सबै काम प्रचलित नियम कानुन अनुसार गर्ने गरेको छ । लेखा अधिकृतको कमान्डमा लेखासम्बन्धी सम्पूर्ण काम नियमअनुसार भइरहेका छन् । बेरुजु फछ्र्यौटमा पनि लेखा शाखाले नियमानुसार असुलउपर तथा नीतिगत विषयमा कानुन अनुसार नै काम भरहेको छ । खरिद ऐन विधि र कानुन अनुसार नै सार्वजनिक खरिदको काम हुने गरेको छ ।

काम गर्दै जाँदा नगरमा देखापरेका समस्या के छन् ?

त्रियुगा कोशी प्रदेशकै सबैभन्दा बढी क्षेत्रफल भएको ठूलो नगरपालिका भएकाले समस्या पनि धेरै छन् । साना खहरे खोला नियन्त्रण, नदी नियन्त्रण, सडक, खानेपानी, शिक्षा स्वास्थ्य लगायतका धेरै क्षेत्रमा समस्या देखिएका छन् । वडामा रहेको स्वास्थ्य चौकीदेखि लिएर शिक्षामा विद्यालय भवन निर्माण सेवा सुविधा थप गर्ने, कृषि क्षेत्रको उत्पादनमा वृद्धि, नयाँ प्रविधिको विकास लगायतका धेरै विषयमा समस्या छन् । नगरको बजेटले मात्र समस्या समाधान गर्न नसकिने भएकाले प्रदेश सरकार, संघीय सरकारसँग बजेट माग गरिएको छ । यसले समस्याहरु सुधार र समाधान हुने आशा लिएको छु ।

यहाँको कला, संस्कृतिको अवस्था कस्तो छ ?

त्रियुगा नगरपालिकामा केही गरांै भन्ने भावना भएका बौद्धिक वर्गको अभाव देखिएको छ । साहित्य कला संस्कृतिका लागि नगरपालिकाले बजेटको व्यवस्था गरेको छ । सबै शहर उन्मुख भएको र सानो ठाउँ भएकाले साहित्य, कला, संस्कृतिमा पछि परेको छ । त्रियुगाले नगरस्तरीय प्रज्ञा प्रतिष्ठान गठनका लागि प्रक्रिया अघि बढाइएको छ ।

हाल नगरपालिकाले भोग्नुपरेका मुख्य समस्या के हुन् ?

त्रियुगाले भोग्नुपरेका मूल समस्या आर्थिक समस्या हो । नगरपालिकाको प्रत्येक काममा आर्थिक नै पहिले आवश्यकता पर्दछ । कुनै पनि विकास निर्माणका काम हुन वा योजना आयोजना सम्पन्न गर्न, शिक्षा स्वास्थ्य, खानेपानी सडक पूर्वाधारलगायतका काम सम्पन्न गर्न आर्थिक समस्याले पिरोल्छ । बजेटकै अभावले नगरपालिकाले अघि सारेका धेरै योजना अलपत्र परेका छन् । आर्थिक अवस्था कमजोर हुनु नै मूल समस्या होे ।

नगरपालिकाको आयवृद्धि गर्न कस्ता कार्य भइरहेका छन् ?

नगरपालिकाको स्थायी आय वृद्धिका लागि स्रोतको खोजी भइरहेको छ । यसमा कर वृद्धिका कुरा पनि आउँछ । स्थानीय तहले पाउने अधिकार प्र्रयोग गरेर विभिन्न शीर्षकमा लिइने कर उठाएर आय वृद्धि गर्ने योजना छ । करका नयाँ शीर्षक खोजी गर्न विज्ञहरुसँग छलफल गरिरहेका छौं । करको दायरा फराकिलो पार्न र कर वृद्धि गर्न सर्वेक्षण गर्न असोजदेखि कर्मचारी खटाएका छौं । आगामी पुसमा हुने नगरसभाले करको दायरा बढाउने आन्तरिक आयस्रोत वृद्धि गर्ने निर्णय गर्छ ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्दछ ?

कर्मचारी र जनप्रतिनिधि भनेका नङ र मासुको सम्बन्धमा जीवन्त रहनुपर्दछ । नगरपालिकामा योजना कार्यान्वयन गर्ने वा अन्य कुनै पनि काममा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । जनप्रतिनिधि र कर्मचारीमा भावनात्मक एकता हुनुपर्दछ । कर्मचारी र जनप्रतिनिधि भनेका एक–अर्काका परिपूरक भएकाले दुवैले दुवैको भावना बुझेर काम गर्नुपर्दछ । कर्मचारी नहुँदा जनप्रतिनिधिले मात्र पनि काम गर्न सक्दैनन् भने जनप्रतिनिधि नहुँदा पनि कर्मचारीलाई काम गर्न असहज हुन्छ । त्यसैले दुवैले एक–आपसमा राम्रो सम्बन्ध राखेर काम गर्नुपर्दछ ।

आर्थिक तथा प्रशासनिक अनुशासन नहुँदा देशमा भ्रष्टाचार व्याप्त छ । त्रियुगाले यस विषयमा कस्तो नीति अवलम्बन गरेको छ ?

हामीले काम गर्दा आर्थिक ऐन नियमअनसार प्रशासनिक विधि पूरा गरेर गर्ने गरेका छौं । नगरपालिकाले पास गरेका नीति तथा कार्यक्रम बजेट खर्च गर्ने कार्यविधिअनुसार काम हुने भएकाले आर्थिक तथा प्रशासनिक अनुशासन कायम गर्नु अत्यावश्यक छ । पछि बेरुजु नआउने गरी कार्य गरिरहेका छौं । अनावश्यक खर्च नगरी प्राथमिकता र आवश्यकताका आधार नियमानुसार आर्थिक तथा प्रशासनिक काम गरेका छौं ।

कार्यान्वयन तथा योजना, आयोजना, विकास निर्माणमा नगरपालिकाले आर्थिक सहयोग तथा प्राविधिक प्रशासनिक सहयोग गर्ने भएकाले आर्थिक अनुशासन समायोजनमा जनताले पनि सहजीकरण गरेका छन् ।

विकास निर्माणमा जनसहभागिता र आर्थिक अनुशासनलाई कसरी समायोजन गरेर काम गर्नुभएको छ ?

विकास निर्माणमा जनसहभागिता गराउन सक्दा नगरपालिकालाई फाइदा हुन्छ । जनसहभागितामा आधारित विकास निर्माण तथा योजनाको काममा आर्थिक अनुशासन हुन्छ । किनभने जनसहभागितामा जनताले नै खटेर वा श्रमदान गरेर काम हुने भएकाले अनावश्यक खर्च हुँदैन । अर्कोतर्फ जनता पहिलेको तुलनामा धेरै जागरुक भएकाले पनि आर्थिक अनुशासन कायम गर्नुपर्दछ । जनताले प्रत्येक कामको हिसाब खोज्छन् । जनताले तिरेको करबाट विकास निर्माण तथा योजना आयोजनाका काम हुने भएकाले आर्थिक अनुशासन पालना आवश्यक छ ।

जनताले चाहेको योजनामा जनताको सहभागिता हुन्छ र जनताको करबाट सञ्चालित योजनामा जनताकै अधिकार हुन्छ । कार्यान्वयन तथा योजना, आयोजना, विकास निर्माणमा नगरपालिकाले आर्थिक सहयोग तथा प्राविधिक प्रशासनिक सहयोग गर्ने भएकाले आर्थिक अनुशासन समायोजनमा जनताले पनि सहजीकरण गरेका छन् ।