क्यानडाका लागि राजदूतमा पौड्यालको नाम अनुमोदित

0
Shares

काठमाडौँ।

विशेष सुनुवाइ समितिले परराष्ट्र सचिव भरतराज पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज भएको सुनुवाइपछि सचिव पौड्याललाई उक्त पदमा अनुमोदन गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

त्यसअघि सचिव पौड्यालले आफ्नो कार्ययोजना समितिसमक्ष प्रस्तुत गर्नाका साथै सदस्यहरुका जिज्ञासाको जवाफ दिएका थिए ।

यसैबीच, प्रतिक्रिया दिँदै राजदूतमा अनुमोदन भएका सचिव पौड्यालले नेपाल सरकारले आफूलाई सुम्पेको जिम्मेवारी इमान्दार र कर्तव्यनिष्ठ भएर पूरा गर्ने बताए ।

मन्त्रिपरिषद्को हालैको बैठकले सचिव पौड्याललाई क्यानाडाका लागि राजदूत नियुक्ति गर्न सिफारिस गरेको थियो । संसदीय समितिले उनलाई अनुमोदन गरेसँगै नेपालको संविधानअनुसार राष्ट्रपतिले उक्त पदमा श्री पौड्याललाई नियुक्त गर्नेछन् । त्यसअघि क्यानाडाबाट पौड्यालको नाममा नेपाल सरकारले सहमति प्राप्त गर्नुपर्नेछ ।