नेपाल–बेलायत मैत्री सन्धिको सय वर्ष पूरा 

0
Shares

काठमाडौँ। 

नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको नेपाल–बेलायत मैत्री सन्धि , १९२३ एक सय वर्ष पूरा भएको अवसरमा काठमाडौँस्थित हनुमान ढोकाको लौेह चोकमा आइतबार एक समारोहको आयोजना गरियो ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको उक्त समारोहमा परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र बेलायतबीचको मैत्री सन्धि सय वर्ष पुगेकोमा खुसी व्यक्त गर्दै नेपाल र बेलायतको पुरानो मैत्री सम्बन्धबारे चर्चा गरे ।

समारोहमा नेपालका लागि बेलायतका राजदूत रोब फेनले नेपाल र बेलायतको मैत्री सम्बन्ध दुई देशबीचको अन्तर निर्भरताको एउटा अनुपम नमुनाको रुपमा रहेको बताए । उनले यो पुरानो मैत्री सम्बन्ध दीर्घकालसम्म रहने भन्दै नेपालको दिगो विकास र अहिले नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्या समाधानका लागि बेलायतले सहयोग गर्न तत्पर रहेको जानकारी पनि दिए ।

प्राडा त्रिरत्न मानन्धरले नेपालको बेलायतसँगको सम्बन्ध युद्धको मैदानबाट शुरु भएको जानकारी दिंदै यो सन्धीपछि नेपालले बेलायतबाट औपचारिक रुपमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मान्यता पाएको जानकारी दिए ।

समारोह स्थलमा नेपाल– बेलायत मैत्री सन्धीका ऐतिहासिक पाण्डुलिपिहरुको प्रदर्शन पनि गरिएको थियो ।