नागरिक निराशा, दुर्गा प्रसाईं र राजावादीको च्याँखेदाउ

कुनै बेला ओली र प्रचण्डका प्रिय पात्र प्रसाईं अहिले दुवैको आँखाको तारो 

0
Shares

भक्तपुर। 

भक्तपुर जिल्लाको मध्यपुर थिमिस्थित निकोसेरा नजिक रहेको छ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र गणतन्त्र बिरोधी अभियानमा रहेका दुर्गा प्रसाईंको घर । हुन त उनको पुर्ख्यौली घर झापा हो । तर हिजो आज उनको यो घर फेरि चर्चामा आएको र मिडिया तथा सामाजिक सञ्जालमा छाएको छ ।

तत्कालीन नेकपा बन्दै गर्दाको बखत नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रसाईसँगै मार्सी चामल सहितको दिवा भोज खाएको बेला पनि यो घर मिडियामा छाएको थियो ।

पछिल्लो एक दुई महिना यता निरन्तर सुरक्षा निगरानीमा छ उनको घर ।

एमालेका चर्चित नेता एवं पूर्व मन्त्री महेश बस्नेतसँगको टकराबपछि उनको घरमा विशेष सुरक्षा निगरानी बढाईएको थियो ।झन् मंसिर ७ को उनी नेतृत्वको आन्दोलन र युवा संघको प्रतिवादी आन्दोलनको कारण उनी बसेको यो घर फेरि सामाजिक संजाल र मिडियाको चासोको स्थान भयो ।त्यसो त युवा संघले विकृतिको अन्त्य र सुधारको लागि विरोध पनि भनेको छ ।

६ गते आन्दोलनको अन्तिम तैयारी र आन्दोलनमा आएका महिलामाथिको रात्रिकालीन आक्रमणको प्रतिवाद उनले यहीबाट पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका थिए ।

मंसिर ७ गतेको बल्खुमा भएको उनी नेतृत्वको आन्दोलन शान्तिपूर्ण त हुन सकेन तर युवा संघको भन्दा ठुलो भएको विविध आँकलन छ ।
जब उनले आन्दोलनलाई निरन्तरता दिंदै ८ गते राजधानीको तीन कुनेमा जनविद्रोह सभा (उनकै शब्दमा) गर्ने घोषणा गरे तब प्रहरीले उनलाई घरमै सीमित गरेको हल्ला फैलियो ।भलै उनलाई नजरबन्दमा नराखिएको सरकारी भनाई छ भने उनले आफूलाई नजरबन्द गरिएको दाबी गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता निर्णायक मोडमा पुग्दै गर्दा उनी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रिय पात्र मात्र देखिएका थिएनन् उनले दुई नेतालाई एकै ठाउँमा ल्याएर कम्युनिष्ट एकता ,स्थिर सरकार निर्माण ,देशको स्थायित्व र समृद्धिको लागि भूमिका खेलेको दाबी गरेका थिए ।तर आज समय क्रममा प्रसाईँ उनै दुई ठुला नेताको आँखाँको तारो जस्तै बनेका देखिन्छन् ।

एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री ओली ,एमाले नेता महेश बस्नेत र उनीबीच त खुलमखुल्ला टक्कर देखिन्छ  भने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले उनलाई घरमै नजरबन्द गरेको र उनको आन्दोलनमा प्रहरी दमन गरेको उनको र उनकै समर्थकको भनाई छ ।
उनलाई नजरबन्दमा राखेको भन्दै सरकारको आलोचना पनि भएको छ ।

समयको खेल पनि अचम्म कहिले उही साथी कहिले घाती भने जस्तो । हुन त नेपाली राजनीतिमा यस्ता दृश्य सामान्य भैसकेका छन् । अब रह्यो प्रसार्इं नेतृत्वको आन्दोलनको कुरा । प्रसाईले घरमै नजरबन्द भनिएपछि फेरि प्रशासनकै सहमतिमा र सुरक्षा निगरानीमा सिफल पुगेर समर्थकलाई सम्बोधन गर्दै आन्दोलन निरन्तर जारी रहने बताएका छन् ।

उनकोपछि लागेको जनताको मास पक्कैपनि व्यवस्था फेरिदा पनि जनताको अवस्था नफेरिदाको परिणाम हो ।राजतन्त्रका पक्षमा राजधानीमा आन्दोलन चलिरहँदा यसबारे पूर्वराजा शाहबाट कुनै अभिव्यक्ति आएको छैन । बरु प्रसाईँ समूहको आन्दोलनलाई खुलेर समर्थन नगरेर उस्तै अजेन्डा बोकेको राप्रपाले शनिवार आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् ।

हुन उन्नत चेतनाको ,विश्वले अभ्यास गरेको सर्वोत्कृष्ट राजनीतिक व्यवस्था हो गणतन्त्र उर्फ संघीय लोकतान्त्रिक गणतन्त्र। खैर यसमा सुधारको खाँचो पनि देखिएको छ ।तर कसैले राजा आउनुपर्छ भन्न पाउने अधिकारको सम्मान हुनपर्छ पनि होला । बहुमत नागरिकलाई मनाएर वंशको आधारमा होइन बहुमत नागरिकको मतका आधारमा नभै चुनिएर आउन पनि दूर क्षितिजको सम्भावना हुन सक्ला ।

मुलत कि नेता अब सुध्रिनुपर्छ कि सक्किन तैयार हुनुपर्छ र सच्चिनुपर्छ भन्ने नै देखिन्छ अधिकांश देशबासी र देशमा क्रियाशील धेरै दलको सोचाई–बुझाई । दुर्गा प्रसाईको प्रमुख माग  २० लाख भन्दा कम सबै ऋण मिनाहा गर्ने हो तर एकाथरीले यो आन्दोलनमा राजावादीले च्याखेदाउ थापेको आँकलन पनि गरेका छन्  ।

समग्रमा प्रमुख दलका प्रमुख नेताहरुले यो बुझनै पर्छ ,आजित नागरिकलाई गणतन्त्र वा राजतन्त्र भन्दा असल शासन र ईमान्दार शासक चाहिएको महसुस हुन थालेको छ । लाग्छ बहुमत जनताको ढुकढुकीले भनिरहेको छ आदरणीय नेताहरु शासक होइन जनताको सेवक बन्नुस्, हामीले धेरै क्रान्ति गर्र्यौ ,हामीलाई अब अर्को राजनैतिक क्रान्ति होइन, सहज रुपमा गाँस ,बास , कपास चाहिएको छ ,शिक्षा,स्वास्थ्य,रोजगारी चाहिएको छ ।

शान्ति सुरक्षा र प्रविधिमा पहुँच चाहिएको छ ।आर्थिक उन्नति,सुशासन,सामाजिक न्याय ,समृद्धि,आत्मनिर्भरता ,राष्ट्रिय स्वाभिमान र स्वाधिनता बाहेक केही चाहिएको छैन ।