बाटोमा विद्यालय हिँडिरहेका विद्यार्थी तथा बालबालिकामा निराशा छाएको छ । कतिपय त बीचमै पढाइ छोडेर गाउँ फर्किनुपर्ने अवस्था आएको भन्दै कुराकानी गरिरहेको पनि सुनिन्छ । आमाबुबा बेरोजगार भएपछि कोठाभाडा वा विद्यालय फिस तिर्न नसकेर बीचमै पढाइ छोडेर अभिभावकसँगै गाउँघर फर्किन लागेको उनीहरु बताइरहेका हुन्छन् ।
अहिले निजी विद्यालयका विद्यार्थी हुन् वा सरकारी विद्यालयका, उनीहरुले निराश हुँदै यस्ता कुराकानी गरिरहेको भेटिन्छ । यहाँको बसाइ छोडेर गाउँ फर्किएपछि त्यहाँ भर्ना लिइँदैन, जसले गर्दा ती बालबालिकाको पढाइ एक वर्ष बिग्रिन पुग्छ । फेरि एक वर्षपछि पनि पढ्न पाइन्छ कि पाइँदैन ? अर्कोतिर, यहाँ बनाएका साथीभाइ र गुणस्तरीय शिक्षा, सेवासुविधा छोड्नुपर्दा उनीहरुमा मानसिक समस्यासमेत देखिन्छ । आज ती बालबालिकाको भविष्य अन्यौल हुन पुगेको छ । बाआमासँग रोजगारी नहुँदा, व्यापार व्यवसाय ठप्प हुँदा त्यसको मार बालबालिकाले भोग्नुपरेको छ ।
बालबालिका कहिल्यै झुटो बोल्दैनन् । बरु ठूला मान्छेहरु ढाँट्छन् । मुलुकमा आर्थिक मन्दी छ । बेरोजगारी, महँगी र गरिबी दिनप्रतिदिन बढ्दो छ । मानिसहरुले कोठाभाडा, सटरभाडा वर्षौंदेखि तिर्न सकेका छैनन् । कुनै अभिभावकले पनि आफ्नो बालबालिकाको भविष्य अन्धकार होस् भनेर चाहँदैन । सबैलाई आफ्नो बालबालिकालाई राम्रो, गुणस्तरीय शिक्षा, सेवासुविधा दिन मन लाग्छ । तर, काठमाडौं उपत्यकामा त पानीसमेत किनेर खानुपर्छ । घरधनीहरु दिउँसै बत्ती बाल्नुपर्ने अध्याँरो सानो कोठाको मासिक पाँच हजारदेखि दश हजारसम्म लिन्छन् । एक फ्ल्याटको २५ हजारदेखि तीन लाख र एउटा सटरको ५० हजारदेखि १५ लाखसम्म लिइएको पाइन्छ ।
खाद्यान्नको मूल्य पनि त्यत्तिकै बढेको छ । सय रुपियाँदेखि १५ सयसम्म खाद्यान्नको मूल्य बढेको पाइन्छ । महँगी बढेको बढ्यै छ तर यहाँ एकातिर काम पाइन्न अर्कोतिर काम गरे पनि समयमा तलब दिइँदैन । मानिसलाई भोक लाग्छ, खानेकुरा चाहियो । बस्नका लागि बास चाहियो ।
अहिले राजधानीको व्यापारिक स्थलहरुमा समेत व्यापारीहरु व्यापार नभएको गुनासो गर्छन् । मालपोत र यातायात कार्यालयमा लेखनदास गर्न बसेकाहरु पनि कोही सेवाग्राही आउँदैनन् भन्छन् । त्यस्तै, ज्यालादारी गर्नेहरु अहिले घरघरमा काम खोज्दै आइपुग्छन् । हरेक क्षेत्रमा मन्दी आइसकेको सर्वसाधारणको भनाइ छ ।
एकथरी मानिस फेरि सहकारीले पैसा खाइदियो भन्छन् । सहकारीले बचत गरेको रकमसमेत खाइदिँदा, व्यापारव्यवसाय ठप्प हुँदा र महँगी बढेको बढ्यै गरेपछि मानिसहरु उपत्यका छोडेर आफ्नै गाउँघर फर्किन लागेका हुन् । महिना मर्नुअघि घरधनी भाडा माग्न ढोका ढकढक्याउँछन् । पसलमा सामान किन्नुअघि पैसा दिनुपर्छ । सार्वजनिक यातायातमा चढ्नेबित्तिकै सहचालक भाडा निकाल्नुस् भन्छ । बिरामी भएर अस्पताल जाँदा भर्नाअघि नै पैसा डिपोजिट गर्नुस् भनिन्छ । सरकारी विद्यालयमा पनि विभिन्न बहानामा पैसा उठाइन्छ । निजी विद्यालय त झन् अभिभावक लुट्न र ठग्न खुलेका हुन् । कतिपय अभिभावकले फिस तिर्न नसक्दा बालबालिकाहरु परीक्षा दिनबाटै वञ्चित भएको तथा आत्महत्या गर्नुपर्ने अवस्थामा समेत पुगेको घटना पनि छन् । व्यापारीहरु हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् ।
पछिल्लो समय सर्वसाधारण पसल जान छोडेका छन् । दिनप्रतिदिन महँगीले सीमा नाघ्दा सर्वसाधारणले अत्यावश्यक वस्तु तथा सामानसमेत किन्न छोडेका छन् । घरजग्गा, गाडी र शेयर दलालीहरुको पनि बिजोक छ । एक कप चिया खानसमेत उनीहरु अरुको आशमा बस्छन् । करोडौं बचतकर्ताको खर्बौं रकम सहकारीले झ्वाम पारिहाल्यो । एकै बचतकर्ताको पाँच हजारदेखि करोडसम्म सहकारीले पचाएको छ । सहकारीपीडित बचतकर्ताहरु राजधानीको माइतीघर मण्डलामा ६२ दिन आन्दोलनमा बसे । तर, उपलब्धि केही भएन ।
जनताले अहिले सहकारीमा बचत गर्न छोडेका छन् । सहकारीका कर्मचारी वा सञ्चालक देखे उनीहरु चोर, फटाहा, दलाल आयो भन्छन् । सरकारले आगामी चैत्र मसान्तभित्र बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन दिएको छ । तर, बचत माग्न सहकारी जाँदा कार्यालय नै बन्द छ । कतिपय सहकारी खुले पनि भित्र कर्मचारी हुँदैनन् । सहकारीले बचत फिर्ता नगरेपछि कोठाभाडा, बालबालिकाको फिस र उपचार खर्चका लागि मानिसहरुले आफूसँग भएको सुन धितो राखेको पाइन्छ ।
यस्तो गर्दा एक लाखको सुन धितो राखेमा ५० हजार दिइन्छ, त्यो पनि ३६ प्रतिशत ब्याजमा । फेरि तीन महिनाभित्र त्यो ऋण तिरिसक्नुपर्छ । नभए एक लाखको सुन ५० हजारमा पचाइन्छ । मानिससँग धितो छ । तर, धितो किन्नेचाहिँ कोही छैन । घरजग्गा, गाडी र शेयरको मूल्यमा दिनहुँ गिरावट आएको छ । हिजो घरजग्गा, गाडी र शेयर भएकाहरु यो बेच्दा यति मूल्य आउँछ भनेर घमण्ड गर्थे । तर, त्यो घमण्ड आज सकिएको छ । घरजग्गा, गाडी र शेयरको मूल्य पाँच दशकअघिकोमा फर्किएको छ ।
जो व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र शेयर किनेको थियो, उसलाई आज मर्नु कि बाँच्नु भएको छ । सार्वजनिक स्थलहरुमा बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर वा व्यापार व्यवसायमा डुबेपछि आत्महत्या गरेको प्रशस्तै सुनिन्छ । पहिला–पहिलाका मानिसहरु खेतबारी ठूलो भन्थे । जोसँग खेतीयोग्य जमिन छ, ऊ नै सबैभन्दा धनी भनिन्थ्यो । पछिल्लो समय खेतीयोग्य जमिनमा घर बनाइयो । त्यही जमिन बेचेर गाडी र शेयर किनियो । तर, घर, गाडी र शेयरको मूल्य घटेपछि अहिले ती व्यक्तिहरु तनावमा छन् । दुई वर्षअघि आनाको २५ लाखमा किनेको जग्गा अहिले लाख रुपियाँमा बिक्री नभएको समेत सुनिन्छ । चार हजार कित्ता हालेको शेयर सय रुपियाँमा बिक्दैन । १५ लाखमा किनेको गाडी लाख रुपियाँमा बिक्री हुन्न । सहकारी त बचतकर्ताको रकम लिएर भागिहाल्यो ।
यता डोकोमा साग बेच्नेसमेत व्यापार नै हुन छोडेको बताउँछन् । सानो व्यापारी होस् वा ठूलो, मन्दीका कारण भाडा नै तिर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । महँगीले सीमा नाघिसकेको छ । गरिबहरु भोकभोकै मर्नुपर्ने अवस्था निम्तिएको छ भने धनी झन्–झन् धनी हुँदै गएको छ । धनी र गरिबबीचको खाडल बढेको छ । घरधनीहरु कोठा, सटर भाडा महिनैपिच्छे बढाउँछन् । यातायात व्यवसायीहरु सार्वजनिक यातायातको भाडा बढाएको बढायै गर्छन् । निजी अस्पताल र विद्यालय जनता ठग्न पल्केका छन् । सरकारी विद्यालयका शिक्षकशिक्षिकाहरु बालबालिका पढाउँदैनन्, राजनीतिक दलको झोला बोकेर हिँड्छन् अनि जनताले तिरेको करबाट तलबभत्ता खान्छन् ।
सरकारी अस्पतालमा बसेका डाक्टर, नर्सहरु पनि बिरामीको उपचार गर्दैनन् । उल्टो निजी क्लिनिकमा बिरामी रिफर गर्छन् । एउटै सरकारी कर्मचारीको मासिक तलब ३२ हजारदेखि लाखौं छ । भत्ता र सेवासुविधा छुट्टै हुन्छ । घरधनीहरु पनि घरभाडामा लगाएर मासिक लाखदेखि करोड उठाउँछन् । यी व्यक्तिहरुका छोराछोरी अमेरिका, अस्ट्रेलिया छन् । महिनामै दशौं लाख कमाउँछन् । तर, महिनामा पाँच हजार कमाउने र दश लाख कमाउनेलाई बजारमा सामानको मूल्य भने बराबर हुन्छ । तेरो काम गर्ने ठाउँमा तलब कम रहेछ भनेर न घरधनीले कोठा सस्तोमा दिन्छ, न पसलले सामान ।
अस्पतालहरुमा पनि उपचार निःशुल्क गरिदिइँदैन । जो मानिस चिप्लो घस्न सक्छ, झुट्टो बोल्न र अरुलाई सजिलै ठग्न सक्छ, ऊ यहाँ सजिलै बस्न सक्छ तर जो मानिसलाई यस्तो काम गर्न आउँदैन, ऊ गाउँ फर्किनुबाहेक केही विकल्प छैन ।
रुषा थापा
प्रतिक्रिया