मूल नेतृत्वबाटै एकाधिकारवादको शिकार बन्दै दलहरू 

0
Shares

काठमाडौं । 
नेपालका प्रायः सबैजसो राजनीतिक दलहरू पार्टी मूल नेतृत्वबाट एकाधिकारवादको शिकार बन्न पुगेका हुन् । आफूलाई लोकतान्त्रिक चरित्रको हिमायति ठान्ने नेपाली कांग्रेस र समाजवादको भारी नै बोकेको दाबी गर्ने कम्युनिस्ट पार्टीमा नेतृत्व तहबाटै एकाधिकारवाद लादिँदै आएको छ ।
सबैजसो राजनीतिक दलहरूले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई अंगीकार गरेका छन् । तर, दलको नेतृत्व गर्ने अध्यक्ष वा सभापतिले  पार्टीभित्रबाट आउने फरक मतलाई स्वीकार्न सकेको अवस्था छैन ।  संसद्को सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले गर्ने हरेक निर्णयहरूमा सभापति शेरबहादुर देउवाको एकल अधिकार चल्ने गरेको भन्दै पार्टीका महामन्त्रीहरूले नै पटकपटक विरोध गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत सभापतिले पार्टीमा आफूहरूलाई थाहै नदिई राजनीतिक निर्णय गर्ने र मिडियामा आइसकेपछि मात्रै आफूहरूले थापा पाउने गरेको गुनासो गर्दै आएका छन् । यसले कांग्रेस सभापतिको एकाधिकारको चपेटामा रहेको पुष्टि गर्दछ ।
सभापति देउवाले आफ्नो योजना र विचारमाथि फरक मत राख्नेलाई पार्टीभित्रका जुनसुकै अवसरबट बञ्चित गराउने गरेको आरोप केन्द्रीय सदस्य मधु आचार्यको छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वर्तमान नेतृत्वबाट कुनै परिवर्तनको सम्भवना देखिएन । पार्टी सञ्चालनमा देउवाको एकलौटी र एकाधिकार कायमै रहेको अवस्था छ । उहाँले स्थानीय तहको निर्वाचन, संघीय संसद् र प्रदेश सदस्यको उम्मेदवार चयन गर्दा होस् वा पार्टीको केन्द्रीय समितिदेखि भ्रातृसंगठनहरूमा मनोनयन गर्दा समेत एकलौटी रूपमा हस्तक्षेप गर्नुभएको छ  ।’
संघीयदेखि प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदासमेतमा पार्टीको महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका सभापतिका प्रत्यासी डा. शेखर कोइराला पक्षधरलाई ४० प्रतिशत नदिएको भन्दै पटकपटक सभापति देउवाविरुद्ध आवाज उठिइरहेको छ । राजनीतिक नियुक्तिदेखि पार्टी विभाग गठनमा समेत देउवाले एकलौटी गरेको, आफ्ना प्रतिष्पर्धी र असन्तुष्ट पक्षलाई अवसरबाट बञ्चित गर्ने गरेको देउवाले आरोप खेप्दै आउनुभएको छ ।
ऋाफूलाई बहुदलीय जनवाद र जनवादी केन्द्रीयताको प्रवद्र्धक हुँ भन्ने संसद्को दोस्रो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सबै निर्णयहरू केन्द्रीय नेतृत्वकै हस्तक्षेपमा हुने गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण पार्टीमा विग्रह नै भयो । उहाँले आफूबाहेक पार्टीमा कोही पनि छैन जस्तै गरी निर्णय गर्ने, आफ्नो योजनामाथि फरक मत राख्ने जस्तासुकै वरिष्ठ नेतालाई समेत पाखा लगाउने र आफ्नालाई अवसर दिने गरेको एमालेकै नेताहरूको गुनासो छ ।
ओलीमाथि एमालेका दुई पूर्वअध्यक्षहरू माधवकुमार नेपाल र झलनाथ खनाल र पूर्वउपाध्यक्ष बामदेव गौतमसमेतलाई पार्टी छाड्न बाध्य बनाएको, भीम रावललाई पार्टीको कुनै पनि जिम्मेवारी नदिई विवादस्पद छवि भएका महेश बस्नेतदेखि गोकुल बाँस्कोटा समेतलाई काखी च्यापेर पार्टीभित्र वैमनश्यता खडा गरेको आरोप लाग्दै आएको छ ।
ओलीले पाखा लगाएकै कारण पूर्वउपमहासचिव घनश्याम भुषाल नेकपा (एकीकृत समाजवादी)को महासचिव बन्नुभएको हो । ओलीले आफ्नो कार्यशैलीप्रति प्रश्न गर्ने र असन्तुष्टि व्यक्त गर्नेहरूलाई निषेध गर्दै निर्णय प्रक्रियामा आफ्नो एकाधिकारवादलाई निरन्तरता दिँदै आएको एमालेका कतिपय नेताको आरोप छ ।
कांग्रेस एमाले मात्रे होइन संसद्को तेश्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगत ४० वर्षदेखि पार्टीको नेतृत्वमा हुनुहुन्छ । माओवादी केन्द्रमा प्रचण्डसँग प्रतिष्पर्धा गर्ने वा गर्छु भन्ने कुनै पनि नेता टिकेको इतिहास छैन । प्रचण्डका राजनीतिक गुरु मोहन बैद्य ‘किरण’देखि नेता डा. बाबुराम भट्टराईसमेत पार्टीमा नअट्नु उहाँको एकाधिकारवादी निर्णयकै प्रतिफल भएको माओवादी केन्द्रका नेताहरूकै भनाइ छ । पार्टी बैठकमा जे जे छलफल भए पनि सुप्रिमोको एकल निर्णयले पार्टी सञ्चालन भइरहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
पुराना दलहरू मात्र होइन, नयाँ दलहरूमा पनि निर्णयमा नेतृत्वको पूर्ण हस्तक्षेप हुने गरेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा नेतृत्वको हालीमुहाली छ । २०७९ सालको संघीय संसद्को निर्वाचनमा समानुपातिकतर्फको सांसद छनोट गर्दा आफ्नो विचार र योजनाभन्दा फरक मत राख्नेलाई रवि लामिछानेले विभेदपूर्ण व्यवहार गरेका थिए । केन्द्रीय समितिमा मनोनयन गर्ने विषय र समानुपातिक सांसदको छनोट गर्दा आफ्नो नाम समानुपातिक सूचीमा रहे पनि हटाएर महिला उम्मेदवारलाई सांसद बनाएको एकल निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता गणेश कार्कीले केन्द्रीय समितिमा नरहने घोषणा गर्नुभएको थियो । पार्टीका हरेक निर्णयहरू लामिछानेले भनेअनुसार नै हुने गरेको सो पार्टीका नेताहरूको भनाइ छ ।
विगत ३० वर्षदेखि कुनै न कुनै रूपमा नेतृत्वमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमा पनि पार्टीमा असन्तुष्ट र फरक मत राख्नेलाई अवसर नदिने र आफ्ना समर्थक र भक्तलाई सधैँ काखी  च्याप्ने प्रवृत्ति रहेको आरोप लाग्ने गरेको छ  । सत्तारुढ घटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि पार्टीमा असन्तुष्ट पक्षलाई पाखा लगाएर आफ्ना भक्तलाई मात्र अवसर दिने नेताको रूपमा पहिचान बनाउनुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले पार्टी केन्द्रीय समिति बनाउँदा आफ्नो एकल निर्णयबाटे आफ्ना सम्धी–सम्धिनी, ज्वाईंसहित अफन्तहरूलाई राखेर ६३ पदाधिकारी बनाएछि चर्को आलोचना बेहोर्नु परेको थियो ।