बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रेको काम सुरु



म्याग्दी।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत बेनी–गलेश्वर खण्डमा आज (शनिवार)देखि कालोपत्रेको काम सुरु भएको छ । गएको वर्ष माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नतिको काम सकेर कालोपत्रेको काम अगाडि बढाइएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रे गर्न आजदेखि प्राइम कोट हाल्न सुरु गरिएको आयोजनाका साइड इन्जिनियर अच्युतविसाल पन्तले जानकारी दिए । प्राइम कोट हालेको २४ घण्टापछि ट्याक कोट हालेर गिट्टी हाल्ने र लगत्तै फस्टकोट राखेर मेसिनले पेल्ने उनले बताए । त्यसपछि सेकेन्ड कोट अलकत्र छरेर मसिनो गिट्टी हालेर पेलेपछि कालोपत्रेको काम सकिनेछ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाले २ किलोमिटर १ सय २ मिटर दुरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न जय धनञ्जय मंगलादेवी सुवास जेभीसँग १२ करोड ७५ लाख ९४ हजार चारसय २६ रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो ।

बेनीदेखि गलेश्वरसम्म ३ किलोमिटर दुरी रहेको यो सडकखण्डले बेनी नगरपालिकाको ६, ८ र ९ नम्बर वडाको भूगोललाई छुने गर्दछ । बेनी–गलेश्वर खण्ड बेनी नगरपालिका हुँदै उत्तरी म्याग्दीको रघुगंगा, अन्नपूर्ण भएर हिमालपारीको जिल्ला मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्