शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछ : अर्थमन्त्री डा. महत

0
Shares

नुवाकोट । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन्  । शुक्रबार नुवाकोट जिल्ला भलिबल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  अर्थमन्त्री डा महतले भने, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् । विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ । जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ । कृषि क्षेत्रमा लगानी बढ्छ, सूचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन् ।’

मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताएका छन्  । केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य प्राप्त गर्छु भन्ने कसैले ठानेको छ भने त्यो सफल नहुने उनले स्पष्ट पारे ।

खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवको आयोजनामा राखेर ह क्रिकेट मैदान निर्माण गर्न  लागेको जानकारी दिँदै  उनले अन्य खेलकुदको विकास गर्ने सरकारको प्राथमिकतामा रहेको बताए ।

‘नुवाकोट शिक्षामा धेरै पछाडि थियो, हाम्रा पालामा त्रिशुलीमा मात्र एउटा हाइस्कुल थियो, गाउँमा प्राथमिक विद्यालय पनि थिएन’ मन्त्री डा. महतले भने, ‘मैले चौतारामुनि पढ्न सुरु गरेको हुँ । तर पढ्ने अठोट भयो भने अगाडि बढ्न सकिन्छ । पढाइलाई उच्च प्राथमिकता दिन म भाइ बहिनीहरुलाई आग्रह गर्छु ।’

पढाइ र सिप  भयो भने सबै कुरा प्राप्त हुन्छ । पढाइलाई उच्च प्राथमिकता दिन आग्रह गर्दै  मन्त्री डा. महतले भने, ‘पढाइलाई प्राथमिकता राख्ने विद्यार्थीका अभिभावकले  पनि साथ दिनुहुनेछ । पढाइ भयो भने प्रगति गर्नबाट कसैले रोक्न सक्दैन ।’

काठमाडौँ–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको जानकारी दिँदै  मन्त्री डा. महतले भने, ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौँ, यसका लागि अर्बौ अर्ब रुपैयाँ चाहिन्छ । चिनियाँ सरकारलाई समेत सहभागी गराएर यो बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौँ । ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ ।’

यो सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुनेछ । नुवाकोटमै बसेर काठमाडौँ जागिर खान सकिन्छ । गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको छ ।