प्रदर्शनमा सहभागी नभएका नेता, कार्यकर्तालाई प्रशासनको निशानामा पार्नु आपत्तिजनक : राप्रपा 

0
Shares

काठमाडौँ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शनमा सहभागी नभएका राप्रपाका नेता र कार्यकर्तालाई प्रशासनको निशानामा पार्नु आपत्तिजनक भएको बताएको छ।

शुक्रवार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रशासनिक दमन, धरपकड कार्य गरिनु आपत्तिजनक र विडम्बनापूर्ण भएको राप्रपाले जनाएको छ।

‘संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि भएको प्रशासनिक दमन, धरपकडको राप्रपा निन्दा एवं भर्त्सना गर्दछ,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दुःखद, आपत्तिजनक र विडम्बनापूर्ण छ।’

यस्तै आफ्ना मागहरू लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शनस्थल पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा कब्जा जमाउने कार्य अलोकतान्त्रिक भएको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै राप्रपाले अलोकतान्त्रिक गतिविधि रोक्न समेत ध्यानाकर्षण गराएको छ।