जातीय छुवाछुतको अन्त्य गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

0
Shares

कालिकोट। 

 जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाबाट जातीय छुवाछुत तथा भेदभावको अन्त्य गर्ने यहाँका जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

जातीय छुवाछुत तथा लंैगिक भेदभाव सम्बन्धी जनप्रतिनिधि,दलित,महिला,युवाहरुसँग पालिका स्तरीय कार्यशाला गोष्ठीमा सहभागी जनप्रतिनिधि तथा सरोकावालाहरुले समाजको विकृतिको रुपमा  रहेको जातीय छुवाछुतको  अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन ।

युरोपियन युनियनको आर्थिक सहयोग,प्लान इन्टरनेष्नल नेपाल,फेडो नेपालको साझेदारी र मानव अधिकार तथा विकास सञ्चार केन्द्र, हुर्डेकको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै नगर उपप्रमुख गणेश बहादुर शाहीले अहिलेको अवस्थामा पनि गाउँघर,देवी  देवताका मन्दिरमा जातीय छुवाछुत कायम रहेकाले यसको अन्त्य गर्न नगरपािलकाले योजना वनाएर अन्त्यका लागि पहल गर्ने बताए । उनले नगरपालिकालाई जातीय छुवाछुत मुक्त वनाउने वनाइएका सूचक पुरा गर्ने अभियानमा लाग्ने र एसका लागि सवै क्षत्रको आवश्यकता रहेको औँल्याए ।

३७ जना महिला र १४ जना पुरुष सहभागी रहेको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष ददिराम पाण्डे,६ का अध्यक्ष दिनेश शाही,११ का अध्यक्ष देवराज भारती लगायतका वडाध्यक्षहरूले प्रत्येक वडाहरुलाई जातीय छुवाछुतमुक्त वडा बनाउनु पर्नेमा जोड दिए ।

गोष्ठीमा सहभागी दलित अधिकारकर्मी,महिला अधिकारकर्मी,नागरिकसमाजका प्रतिनिधिहरुले धार्मिक स्थल,तथा भोज भतेरमा समेत अहिलेसम्म जातीय छुवाछुत तथा भेदभाव कायमै रहेकाले यसको अन्त्यका लागि स्थानीय सरकार सक्रिय हुनुपर्ने धारणा राखेका थिए ।

हुर्डेकका कार्यवाह अध्यक्ष कल्पना सेजुवालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सहजकर्ता कालीबहादुर मल्लले दलित समुदायको ऐतिहासिक पृष्ठभूमि,नेपालको आन्दोलनबाट प्राप्त दलित समुदायले उपभोग गरिरहेका उपलब्धिहरू, नेपालको संविधानमा जातीय छुवाछूत तथा जातीय भेदभाव विरुद्धको हक,जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन २०६८,छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन २०७५का मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ बारेमा सहभागीलाई जानकारी गराइएको थियो ।

नेपालमा छुवाछूत मुक्त राष्ट्र २०६३ जेष्ठ २१ गते घोषणा गरिए पनि अहिलेसम्म समाजमा कायमै रहेको पाइन्छ ।