लमजुङमा १ लाख बढी नगदसहित ११ जुवाडे पक्राउ



लमजुङ । 

लमजुङमा एक लाख बढी नगदसहित जुवा खालबाट ११ जना पक्राउ परेका छन् । जिल्लाको सुन्दरबजार नगरपालिका ६ खत्रीठाटीबाट एक लाख २४ हजार दुई सय ९५ रुपैयाँसहित जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको हो ।

बिहीबार राती करिब ११ बजेको समयमा खत्रीठाँटीका बर्ष ४३ को सुवास श्रेष्ठको घरबाट रकम हारबाजी राखी जुवा (कौडा) खेलिरहेको अवस्थामा घरधनी सहित जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चापाईले बताए । उनीहरुको साथबाट १६ थान कौडा र नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईले बताए ।

सूचना अधिकारी चपाईका अनुसार एकादशीको दिन हारजितको बाजी राखेर कौडा खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भोटेओडार र सुन्दरबजारको प्रहरी टोलीले श्रेष्ठको घरमा छापा मारेको थियो । पक्राउ परेकाको अनुसन्धानका लागि शुक्रबार म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्