दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा १५७ सेल अश्रुग्यास प्रहार, प्रहरीसहित २८ जना घाइते

0
Shares

काठमाडौँ ।

काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको प्रदर्शन क्षेत्रमा भएको झडपमा पाँच प्रहरीसहित २८ जना घाइते भएका छन्।

झडपपछि स्थिति नियन्त्रणमा लिने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये १७ जना उपचारपछि घर फर्किएका र छ जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बल्खु चोकमा झडप हुन खोजेपछि थप सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिइएको बताए। प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गर्दै बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भिडलाई माइकिङ गरी सम्झाउने क्रममा झन् उत्तेजित हुन थालेपछि ढुङ्गा प्रहार हुँदा ५ प्रहरी कर्मचारी घाइते भएका उनले बताए।

उनका अनुसार प्रारम्भिक विवरणमा प्रहरीको मेगाफोन ३ वटा, शिल्ड–११, हेल्मेट–३ वटा र वाटर क्याननलगायतमा क्षति पुगेको छ। शान्तिसुरक्षा कायम गर्न प्रहरीद्वारा वाटर क्याननबाट पानीको फोहराका साथै १५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको उनले बताए। सुरक्षा योजना र कार्यान्वयनसम्बन्धी विवरण तीनवटै जिल्ला प्रशासन कार्यालयका जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा तयार गरिएको एकीकृत सुरक्षा योजना अनुसार काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट सुरक्षाकर्मी परिचालन भएको थियो।

उपत्यका प्रहरीले प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित ‘ज्वाइन्ट अपरेशन कमान्ड सेन्टर’मार्फत सुरक्षाकर्मी परिचालन गरेको थियो ।