बढुवा भएका पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौं।

नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका पाँच जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले बढुवा भएका उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

बढुवा समितिले सिफारिस गरेका पाँच जना एसपी मंसिर ५ गते गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपीमा बढुवा भएका थिए। जसमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा भएको हो।

दर्ज्यानी चिन्ह प्रदान गर्दै आइजिपी कुँवरले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए। उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।

बढुवा भएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य राख्दै एसएसपी बसन्त रजौरेले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई राष्ट्र, समाज र नागरिकको हितमा समर्पित भई अझ उत्कृष्ट ढंगबाट कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी), प्रहरी नायव महानिरीक्षक(डीर्आजीपी), वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत एवं जवानकोसमेत उपस्थिति रहेको थियो।