![](https://newsofnepal.com/wp-content/uploads/2023/11/Shilpa-Maske-5.jpg)
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म कार्साङमा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन्। यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन्।
शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरूले फिल्ममा काम गर्ने पक्का भएको छ। यस फिल्ममा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पूरा भएको निर्देशक शेर्पाले जानकारी गराए।
शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ। यसअघि, शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन्। फिल्म यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको हो। पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाँकंन गरिने निमार्ण पक्षले जनाएको छ।
फिल्मको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ। यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ। भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।