आलु र पिठोको बोरामा सुन र डलर आदान– प्रदान

0
Shares

दोलखा । 

चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक नाकाबाट अवैध सुन तस्करी गरेको आरोपमा पक्राउ परेका १५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले आवश्यक अनुसन्धान पछि मंगलवार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी दोलखाको लामाबगर नाकाबाट झन्डै एक वर्षको अवधिमा विभिन्न आपराधिक समूह बनाएर ३३ किलो सुनको तस्करी भएको तथ्य खुलेको जनाएको छ । तस्करहरुले विशेषगरी बालबालिकाको प्रयोग मार्फत आलु तथा कोदोको पिठोको बोरामा हालेर सार्वजनिक यातायात मार्फतनै तस्करीको सुन काठमाडौँसम्म पु¥याउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

तस्करहरुले लामाबगरको फलाक नाकाबाट डोरीले सुनको बोरामा बाधेर चीनको तिब्बतबाट नेपाल तर्फ पठाउने र नेपाल तर्फबाट त्यसैरी बोरामा डलर, यार्सागुम्बा, कस्तुरीको विना लगायत पठाउने गरेको तथ्य समेत भेटिएको प्रहरीले जनाएको छ । तस्करी समूहका कतिपय एक अर्कोमा परिचित नभएको समेत पाइएको प्रहरीको भनाई छ ।

गत असोज १० गते समेत विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले दोलखाको लामाबगर, जामुने लगायतका स्थानहरुबाट अवैध रुपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो ।

त्यसरी अवैध सुन बरामद भएपछि ‘अवैध सुन पैठारी र संगठित अपराध निवारण ऐन २०७०’ अन्र्तगतको कसूर शिर्षकमा पुद्दा दर्ता गरी नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी अधिकृतहरुको समेत संलग्नतामा जिल्ला प्रहरी कार्यालय दोलखाले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए । पक्राउ परेकाहरुबाट दश करोड ६८ लाख ६८ हजार सात सय ६१ रुपैयाँ बराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
उनीहरुले २०७९ साल मंसिरदेखि  २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ १५ पैसा बराबरको ३३ केजी सुन अवैध रुपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको छ ।

सुन तस्करी आरोपमा पक्राउ परेका चिनिया तथा नेपालीहरुले अन्तरदेशीय अपराधिक संगठन सञ्जाल खडा गरी क्रिप्टो करेन्सी (युएसडिटी) तथा विभिन्न डिजिटल वालेटको प्रयोग गरी सुनको भुक्तानी दिने र विदेशी मुद्राको अवैध कारोबार गर्ने गरेको समेत खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामकृष्ण पाठकले बताए । यो अवधिमा उनीहरुले विभिन्न १२ वटा डिजिटल वालेट प्रयोग गरी दुई अर्ब एकानब्बे करोड अठ्चालिस लाख बत्ति हजार पाँच सय त्रियानब्बे रुपैयाँ सात सय २९ पैसा बराबरको युनिट युएसडिटीको कारोबार गरेको देखिएको पनि सिआईवीका प्रहरी निरीक्षक पाठकले बताए।

प्रहरीले अहिलेसम्म तस्करी समूहका चिनिया नागरिक आकर लामा र ग्याङ  तथा नेपालीहरु नुर्बु छिरीङ शेर्पा (काठमाडौँ), पेम्बा तमाङ (दोलखा), चसमान तमाङ (दोलखा), केशर तमाङ (दोलखा), माधवकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी), लालबहादुर तमाङ (सिन्धुपाल्चोक), तिलक बिक (बाग्लुङ), दिपेन्द्रराज शाक्य (ललितपुर), बिगु– १६ (दोलखा), चेतनाथ न्यौपाने (रसुवा), महिमा माझी (रामेछाप) तथा सुनमाला तमाङ (दोलखा) लाई पक्राउ गरेको छ ।

फरार रहेका थप १२ जना पक्राउ परेपछि पूरक अभियोगसहित जिल्ला न्यायधिवक्तको कार्यालय पेस गरिने प्रहरीले जनाएको छ ।

तस्विरः पक्राउ परेका तस्कर समूहका व्यक्तिहरु र पत्रकार सम्मेलनमा अनुसन्धानबारे जानकारी दिदै प्रनाउ दिपक र प्रनि रामकृष्ण ।