धार्मिक पर्यटनको गन्तव्य बन्दै मालिका धुरी



म्याग्दी । 

हिमाली जिल्ला म्याग्दीमा धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यहरु थुप्रै छन् । जुनसुकै डाँडाकाँडामा जाने हो भने पनि हिमाल प्रष्टै देखिन्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न ठाउँबाट सुन्दर, मनमोहक र आकर्षक दृश्यलाई आँखा नअघाउन्जेलसम्म हेर्न पाइन्छ ।

त्यसमध्येको एक हो, पश्चिम म्याग्दी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय गन्तव्य मालिका धुरी । समुन्द्री सतहदेखि तीनहजार तीनसय मिटरको उचाइमा अवस्थित मालिका धुरीबाट बिहानको सूर्योदय र बेलुकाको सूर्यास्त मज्जाले देख्न सकिन्छ । यसका साथै मनोरम हिमशृङ्खला, ग्रामीण भूगोल, मानव बस्ती, तरेली परेका पहाडका डाँडाकाँडा तथा थुम्कालगायत रमणीय दृश्यहरु देखिन्छन् ।

मालिका धुरीबाट धौलागिरि, गुर्जा, चुरेन, सिस्ने, मानापाथी, पुतली, पुथा, निलगिरी, अन्नपूर्ण, मनास्लु, माछापुछ्रेलगायत डेढ दर्जनभन्दा बढी हिमालसहित म्याग्दीको ३५ वटाभन्दा बढी गाउँ, लोपोन्मुख वन्यजन्तु जनावर, चराचुरुङ्गी, वनपैदावर, लालीगुराँस, जडिबुटीलगायत अवलोकन गर्न सकिन्छ । मालिका धुरीमा रहेको मालिका, कालिका र जालपाको दर्शन तथा पुजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । मालिका धुरीमा वि.सं. १९१० सालदेखि पुजाअर्चना सुरु भएको इतिहास पाइन्छ ।

मालिका क्षेत्र विकास समिति म्याग्दीका अध्यक्ष छकप्रसाद पाईजाले हरेक वर्ष ज्येष्ठीपूर्णिमा, चण्डीपूर्णिमा र तिहारको भाइटिकाको दिनमा मालिका मन्दिरमा विशेष पूजाआजा हुँदै आएको बताए । उनले पछिल्लो पटक शनिवार, बिदाको दिन र अन्य समयमा पनि मालिका मन्दिरमा विभिन्न ठाउँबाट पर्यटकहरु पूजाआजा र भ्रमणको लागि आउने गरेको बताउँदै यहाँ नरिवल चढाउनुका साथै परेवा र बोकाको बलि दिने गरिएको जानकारी दिए ।

म्याग्दी सदरमुकाम बेनीबाट पैदलयात्रा गरी दुई दिन र सवारीसाधनमार्फत एकै दिनमा सजिलोसँग मालिका धुरी पुग्न सकिन्छ । मालिका गाउँपालिका–७ विम, ६ नम्बर वडा दरबाङको दुखु तथा रघुगंगा गाउँपालिका–६, पाखापानीस्थित ठाडाखानी गाउँको सिरानमा मालिका धुरी पर्दछ । यहाँ पुग्नका लागि विम, दुखु, ठाडाखानी र पर्यटकीय क्षेत्र टोड्केको बाटो भएर जान सकिन्छ ।

मालिका मन्दिर जानका लागि यसअघि गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पदमार्ग निर्माण भएको छ भने मालिका गाउँपालिकाले विमको धौलागङ्गा र नागीथलाको बीच भागसम्म सडक विस्तार गरेको छ । मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक पहल गरिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । उनले चालु आर्थिक वर्षमा मालिका जाने सडकको स्तरोन्नति गर्नका लागि ८७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्