छोराले गरे बुबाको हत्या

0
Shares

पोखरा।

कार्तिक २८ गते मंगलबार पोखरा–१६ बिरौटामा छोराले आफ्नै बुबाको हत्या गरी फरार भए । बिरौटा गोधुली संसार पथमा २२ वर्षीय रविन क्षेत्रीले बुबा रामु क्षेत्रीलाई घरायसी विवादपछि खुर्पा प्रहार गरेका थिए । टाउको र गर्धनमा प्रहार गर्दा रामु गम्भीर घाइते हुन पुगे ।

घटना घटेको सूचना प्राप्त गर्नासाथ वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगी घाइते रामुको उद्धार गरी उपचारका लागि अस्पताल लगियो । बिरौटादेखि नजिकको दूरीमा रहेको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा रामुको निधन भयो । बुबामाथि आक्रमण गरेर स्याङ्जा, पाल्पा हुँदै भारततर्फ भाग्दै गरेको प्रहरीले सुइँको पायो । त्यसपछि प्रहरीले हलिया, फोटोसहित विभिन्न जिल्लामा समेत सूचना पठायो । घटनापश्चात् भाग्दै गरेका रविनलाई पाल्पामा पक्राउ ग¥यो । उनले बुबामाथि १२ बजेर १० मिनेटको समयमा खुर्पा प्रहार गरेका थिए । त्यतिन्जेल उनका बुबाको उपचार भइरहेको थियो ।

रविन स्याङ्जा हुँदै पाल्पाबाट जाँदै थिए । ग२०प ६०४७ नम्बरको मोटरसाइकलमा जाँदै गरेका रविनलाई पाल्पा प्रहरीले चार बजेर पाँच मिनेटमा प्रभासमाबाट पक्राउ गरी कास्की पठायो । प्रारम्भिक अनुसन्धानले घर झगडापछि रविनले बुबामाथि आक्रमण गरेको खुलासा भयो । प्रहरीले रविनलाई चार घण्टामा पक्राउ गर्न सफल रह्यो । रविन पक्राउ परेको एक घण्टापछि अस्पतालले रामुको मृत्यु भएको घोषणा गरेको थियो । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानले घरायसी विवादका कारण घटना भएको खुलेको छ । ‘अनुसन्धान भइरहेको छ । बयान लिने काम भएको छ वास्तविकता पछि आउनेछ’ –उहाँले भन्नुभयो ।

कास्कीमा त्यसको अघिल्लो दिन अर्थात् कार्तिक २७ गते सोमबार अन्नपूर्ण गाउँपालिका ६ लुम्लेमा पनि अर्को घटना घटेको थियो । ५७ वर्षका जुमकाजी विकले श्रीराम देवकोटाको हत्या प्रयास गरेको खुलेको छ । बिहान करिब ९ बजेको समयमा श्रीरामलाई मार्ने भन्दै जुमकाजीले हँसियाले दुई खुट्टामा प्रहार गरेका थिए । खुट्टामा प्रहारपश्चात् गर्धनमा प्रहार गर्न खोज्दा स्थानीय महिलाले जोगाउँदा उनको ज्यान जोगियो ।

जुमकाजीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाई अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जुमकाजी यसअघि समेत आपराधिक गतिविधिमा संलग्न भन्ने बुझिएको जानकारी दिए । एसपी थापाले घटनाको बारेमा थप अनुसन्धान भइराखेको समेत बताए । उनका अनुसार सामान्य विवादपश्चात् घटना घटेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले सामान्य विवादपश्चात् जुमकाजीले प्रहार गरेको खुलेको छ ।