सिरहामा प्रहरी र तस्करबीच ‘सेटिङ’, असुली गर्ने असई

0
Shares

 राजविराज।

सिरहाको सीमावर्ती क्षेत्रमा तस्करसँग मासिक असुली गरी प्रहरीले नै ‘लाइन’ दिने गरेको पाइएको छ ।

तस्करसँग ‘सेटिङ’ मिलाउन खटाइएका अस्थायी प्रहरी पोस्ट भगवानपुरका प्रहरी सहायक निरीक्षक (असई) मुन्ना साहले ‘रेट’ बढाएपछि असुली धन्दाबारे खुल्न आएको हो । ‘यसअघिसम्म मोटरसाइकलमा कपडा ल्याउँदा मासिक २२ हजार रुपियाँ मात्रै तिर्नुपथ्र्यो तर अहिले अचानक १० हजार रुपियाँ बढाएर माग्न थाल्यो’, नाम नछाप्ने सर्तमा एक स्थानीय व्यापारीले भने– ‘त्यो रकम नतिरेपछि कपडा नै जफत गरिहाल्यो ।’

तर, गाई–गोरु, चिनी र गाँजा ओसारपसार गर्नेलाई कुनै रोक–छेक नरहेको उनले बताए । ‘उनीहरूले भने अनुसारकै मासिक रकम बुझाइरहेका छन् पनि, उनीहरूसँग त ठुलो व्यापार छ र उनीहरूका लागि समय र बाटो पनि असई साहले नै निर्धारण गरेर सघाउँछन्’, उनले भने– ‘गाई–गोरु तस्करीका लागि बिहीबार र शनिवार साँझको समय निर्धारित छन् र बाटो चाहिँ बलानको पश्चिमी किनार हुँदै कल्याणपुर–दुधैलाको मन्दिर छेउबाट भारततर्फ पु¥याइन्छ ।’
कहिलेकाहीँ त लामो दूरीका कारण थकित भएर मर्न लागेका गाई–गोरुलाई बलान नदी (बेल्हीको पश्चिमी गौचरस्थल) मा छाड्ने गरेको बेल्हीका गोठालाहरू बताउँछन् । ‘ती बेहोस अवस्थामा पुगेका गाई–गोरुलाई स्याल र चराहरू चिथोरेर खाने गरेको चित्त दुख्दो दृश्य देखिन्छ’ –नदी वारी पर्ने सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका श्रीदेव भण्डारीले भन्नुभयो ।

ईलाका प्रहरी कार्यालय लहानको टोलीले गत कार्तिक ५ गते जिल्लाको लहान नगरपालिका–३ हस्पिटल चौकबाट ४१ बोरा (१३ क्विन्टल) चिनी बरामद ग¥यो । अस्थायी प्रहरी पोस्ट भगवानपुरका प्रहरीले चेकजाँच गरी पठाइएको गाडीमा नै उक्त चिनी हस्पिटल चौकसम्म पु¥याइएको थियो । लेनदेनको ‘बार्गेनिङ’ नमिलेपछि ‘अनलोड’ गरेसँगै बेवारिसे अवस्था देखाएर उक्त बरामदित चिनी तीन दिनपछि ठाढी भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सारका सूचना अधिकारी विनय चौधरीले लहान नगरपालिका–३ हस्पिटल चौकबाट बेवारिसे अवस्थामा बरामद गरिएको चिनी भन्सारमा बुझाइएको बताउनुभएको छ । ‘४१ वटा बोरामा रहेको उक्त चिनीको तौल १३ क्विन्टल रहेको छ’, उहाँले भन्नुभयो– ‘अहिलेसम्म उक्त चिनीको विषयमा कोही दाबी गर्न चाहिँ आएका छैनन् ।’

तस्करकै ‘डिमान्ड’मा दोहो¥याएर असईलाई पठाइयो

सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीमा जानका लागि प्रहरी संगठनभित्र मरिहत्ते हुने गरेको कुरा नकार्न सकिँदैन । उक्त चौकीहरूमा पठाउनका लागि स्थानीयदेखि केन्द्रस्तरका नेताहरूबाट समेत दबाब झेल्नु परिरहेको एक प्रहरी अधिकृतले नै नाम नछाप्ने सर्तमा बताए ।

तर, असई साहलाई पन्ध्र महिना नहुँदै उक्त चौकीमा दोहो¥याएर पठाइएको पाइएको छ । श्रोतकाअनुसार तस्करकै ‘डिमान्ड’ अनुसार असई साहलाई दोहोरिएर सो चौकीमा काजमा पठाइएको छ । यसअघि ०७८ माघ १८ गते सो चौकीमा सरुवा भएर आएका असई साहको ०७९ असार २० गते सरुवा भएको थियो ।

हाल साहको दरबन्दी ईलाका प्रहरी कार्यालय लहानमा छ । तर, तस्करले नै ‘डिमान्ड’ गरेपछि असई साहलाई ०८० असार १२ गते दोस्रो पटक फेरि काजमा खटाएको श्रोतले बताए । ‘यहाँ मालसमान ओहरदोहर गर्न त्यति साह्रो गाह्रो पनि छैन् तर चिनजानका इन्चार्ज भएको खण्डमा अलिक सहज होला भन्ने मनसायले नै असई साहलाई जोडबल गरेर यहाँ झिकाइएको हो तर माथिल्लो हाकिमको दबाबका कारण असई साहले रेट झन महँगो पारेर असुली गर्न थालेका छन्’ उनले भने, ‘कम गर्नभन्दा माथिबाटै धेरै तनाव आइरहेको भन्दै भनेकै अनुसार मासिक रकम नदिए लाइन बन्द गर्ने चेतावनी दिन्छन् ।’

अहिले स–साना व्यापारीले कारोबार रोके पनि ठुलो तस्करहरुलाई मात्रै लाइन दिँदै मासिक असुली गर्दै आएको उनको कथन छ । असई साहले तस्करसँग असुली गरिरहेको विषय अस्वीकार गर्नुभयो । ‘मैले कसैसँग पैसा लिएको छैन, तस्करीको लाइन पनि छैन्’ उहाँले भन्नुभयो, ‘यो सबै गलत कुरा हो ।’
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले उक्त चौकीका असईसँग प्रशासनिक कामकाजबाहेक अन्य कुनै लेनदेनको कुरा नरहेको बताउनुभएको छ । ‘सो चौकी आफ्नै ईलाकामा पर्छ, त्यसैले प्रशासनिक कामकाज हुन्छ तर तीबाहेकको कुनै कुरा छैन्, अन्य कुराहरू एसपी साबसँग बुझ्नुस् न ।’ उहाँले भन्नुभयो ।

उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले तस्करसँग साँठगाँठ गरेको पाइए तत्कालै कारबाही गर्ने बताउनुभएको छ । ‘हुन त यसअघि पनि प्रसनि साहको विषयमा गुनासो आएकै हो, तस्करसँग साँठगाँठ गरेको पाइए कारबाही हुन्छ’ उहाँले भन्नुभयो, ‘तस्करी विषयमा मलाई जानकारी छैन र संगठनको कामकाजबाहेक अन्य कुनै लेनादेना छैन । रोटेसनमा प्रसनि साह त्यहाँ पुगेको हुन सक्छ, यद्यपि थप कुरा बुझ्दै छु ।’