माओवादी केन्द्र र नेसपा पार्टी एकता नजिक

नयाँ नाम नेकपा (समाजवादी) हुन सक्ने

0
Shares

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न सकारात्मक छलफल भएको छ । दुई पार्टीका वार्ता टोलीबीच आइतबार भएको छलफलमा नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली  संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी एकता संयोजन समितिमार्फत् पार्टीको वैचारिक तथा नीतिगत सुझाव, झण्डा, नामलगायत विषयमा आवश्यक सुझाव दिएर अगाडि बढ्ने सहमति भएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘दुवै पार्टीको वार्ता टोलीबीच भएको छलफल माओवादी केन्द्र नाम हटाएर एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्नेगरी सहमति नजिक पुगेको छ । त्यसका लागि पार्टी एकता संयोजन समितिमार्फत् पार्टीको नाम झण्डा, वैचारिकत तथा नीतिगत विषय टुंगो लगाउने सहमति भएको छ ।’

माओवादी केन्द्रको तर्फबाट वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले विशेष महाधिवेशनमार्फत् माओवादी केन्द्र शब्द हटाउन तयार भए पनि नेकपा शब्द भने नहटाउने पहिल्यै निर्णय भइसकेको जानकारी दिनुभयो । उहाँले बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिने भन्दै पोखरेलले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) बनाउन सकिनेबारे सकारात्मक छलफल भएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो– ‘नेकपा हाम्रो बटम लाइन हो । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिन्छ ।’

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले भने नेकपा शब्द कायमै राख्ने विषयमा असहमति जनाउनुभएको श्रोतको दाबी छ । यसै विषयमा पार्टीभित्र विवाद भएपछि उहाँले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ, महासचिव रमेश यादवलगायतका नेताहरू पूर्वसहमतिअनुसार पार्टी एकताका पक्षमा रहेका छन् । माओवादी केन्द्रले केही समयदेखि डा. बाबुराम भट्टराईलाई बाहिर राखेर अर्का अध्यक्ष यादवलाई छलफलमा सहभागी गराउँदै आएको थियो ।

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाव पेस गर्ने भएको छ ।