१० हजार विद्यार्थी पुस्तकविहीन 

आजबाट विद्यालय सुचारु



–विद्यार्थीलाई काउन्सिलिङ
–ओरेन्टेसनपछि मात्र पढाइ
–६७ विद्यार्थी र १ शिक्षकको मृत्यु
–क्षतिग्रस्त विद्यालयमा अस्थायी टहरा बन्दै

काठमाडौं।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ ।

‘भूकम्प आउँदा बच्ने उपाय, अनलाइन कक्षा सञ्चालनलगायतको विषयमा जानकारीसहित केही समय ओरेन्टेसन गर्ने तयारीसहित विद्यालय खोल्न आग्रह गरेका छांै’ –कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज काफ्लेले भन्नुभयो । उहाँका अनुसार विद्यालयमा भएको अपूरणीय क्षति न्यूनीकरण गर्ने विषयमा समेत विद्यार्थीलाई जानकारी दिइने छ ।

मन्त्रालयका अनुसार कात्तिक १७ गते शुक्रबार गएको भूकम्पका कारण १० हजार विद्यार्थी घर र पुस्तकविहीन भएका छन् । उहाँले भन्नुभयो– ‘१० हजार विद्यार्थीको सबै पुस्तक पुरिएको छ, भग्नावषेश घरबाट पुस्तक निकाल्न सक्ने अवस्था छैन ।’ भूकम्पमा परी करिब ४० हजार विद्यार्थी प्रभावित भएका छन् । भूकम्पले ६७ जना विद्यार्थीको ज्यान गएको छ ।

जसमा सबैभन्दा धेरै रूकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको छ । रूकुमपश्चिममा ३६ र जाजरकोटमा ३५ गरी ७१ विद्यार्थी घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटका १ शिक्षकको मृत्यु भएको छ । रूकुमपश्चिम र जाजरकोटमा १–१ गरी दुई शिक्षक घाइते भएका छन् । चाडबाडका कारण विद्यालय बन्द भएकाले धेरै मानवीय क्षति नभएको हो ।

सचिव डा. काफ्लेले भूकम्पबाट क्षति भएका विद्यालयमा तत्काल अस्थायी अध्ययन केन्द्र (टीएलसी) निर्माण गर्ने तयारी गरेको जानकारी दिनुभयो । कर्णाली प्रदेशले पूर्ण र आंशिक क्षति भएका विद्यालयमा टीएलसी निर्माण गर्ने तयारी गरिरहेको छ ।

मन्त्रालयले एक महिना लामो बिदापछि आजबाट विद्यालय खुल्दा ३० प्रतिशत विद्यार्थी प्रभावित भएको आँकलन गरेको छ । भूकम्पबाट क्षति भएका जाजरकोट र रूकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत १ लाख ३३ हजार ६ सय ८७ जनामध्ये ४० हजार १ सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् ।
भेरी नगरपालिकाका मेयर सीपी घर्तीले केही दिन विद्यालय खोल्न सक्ने अवस्था नभएको बताउनुभयो । ‘कसरी विद्यालय सञ्चालन गर्ने भन्ने विषयमा आज नगरपालिकाका शिक्षा प्रमुख, वडाध्यक्ष, प्रअ र विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्नेछांै’ –मेयर घर्तीले भन्नुभयो । उहाँका अनुसार विद्यालयमा अस्थायी टहरा बनाउने विषयमा छलफल भइरहेको छ । टीएलसी नबनाएसम्म अध्यापन गराउन सक्ने अवस्था नभएको उहाँको जिकिर थियो । मन्त्रालयले दिएको निर्देशन पालना गर्न भत्किएको विद्यालयमा केही दिन भएपछि विद्यार्थी बोलाउने विषयमा सहमति जनाएको घर्तीले बताउनुभयो ।

मेयर घर्तीले उपलब्ध गराउनुभएको तथ्याङ्कअनुसार नगरपालिकामा १४ विद्यालय भवन पूर्णरूपमा क्षति भएको छ । ४७ कक्षाकोठा, ९ शौचालय र ४ घेराबारा पूर्ण नष्ट भएको छ । ७८ भवन, १ सय ७१ वटा कक्षाकोठा, ३८ शौचालय, ९ घेराबारा १ विज्ञान प्रयोगशाला, ९ आईसीटी ल्याब र २ वटा सोलार सिस्टममा आंशिक क्षति भएको छ । भूकम्पमा परी ११ विद्यार्थीको मृत्यु, ३१ विद्यार्थी र ३ शिक्षक घाइते भएका छन् ।

जाजरकोटमा ७५ हजार ८ सय ५३ विद्यार्थीमध्ये २२ हजार ७ सय ५९ र रूकुमपश्चिममा ५७ हजार ८ सय ३४ विद्यार्थीमध्ये १७ हजार ३ सय ५१ जना विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् । सचिव डा. काफ्लेका अनुसार रूकुमपश्चिममा ३५, जाजरकोटमा १ सय ७३ गरी २ सय ८ विद्यालय पूर्ण क्षति भएका छन् । त्यस्तै, रूकुमपश्चिममा १० र जाजरकोटमा ४ सय ८ गरी ४ सय १८ विद्यालयमा आंशिक क्षति पुगेको छ ।

त्यस्तै, रूकुमपश्चिममा १ सय १९ र जाजरकोटमा ५ सय १६ गरी ६ सय ३२ कक्षाकोठा पूर्ण र रूकुमपश्चिममा ४० र जाजरकोटमा ८ सय ४६ सहित ८ सय ८६ कक्षाकोठमा आंशिक क्षति पुगेको छ । त्यस्तै, रूकुमपश्चिममा ४ र जाजरकोटमा १ सय ३९ गरी १ सय ४३ वटा शौचालय पूर्ण र जाजरकोटमा १ सय ९० शौचालय आंशिक क्षति भएको छ ।

उता शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयमा विद्यार्थी ल्याउने वातावरण बनाउन सबै विद्यालयलाई आग्रह गरेको छ । केन्द्रका महानिर्देशक दीपक शर्माले त्यसका लागि कर्णाली प्रदेश मन्त्रालयल र अन्य निकायसँग निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आजबाट विद्यार्थी बोलाएर काउन्सिलिङ गर्ने, भूकम्पबाट बच्ने उपाय सिकाउन सबै विद्यालयलाई आग्रह गरिसकेको छ । स्थानीय तहको संयोजनमा विद्यार्थीलाई विद्यालयमा ल्याउने वातावरण तयार भइरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्