आठ जुवाडेविरुद्ध मुद्दा दायर



लमजुङ । 

जिल्ला प्रशासन कार्यालय लमजुङमा ८ जुवाडेविरुद्ध मुद्दा दायर भएको छ । जिल्लाको मध्यनेपाल नगरपालिका ६ भोर्लेटारमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका जुवाडेविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय लमजुङले जुवा सम्बन्धी कसुरमा शुक्रबार १५ दिनको म्याद थप गरी अनुसन्धानको लागि प्रहरीलाई अनुमति दिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । गत कार्तिक २६ गते मध्यरातमा स्थानीय लक्ष्मण कुँवरको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ताससहित नगद १ लाख ६० हजार ६ सय ८५ रुपैयाँ बरामद भएको थियो । प्रहरीले प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

 जिल्ला प्रशासन कार्यालयबाट जुवा सम्बन्धी कसुरमा अनुसन्धानको लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले बताए ।

मुलुकी अपराध संहिता २०७४, अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउने दुबैलाई तीन  महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने र बरामद गरिएको रकम समेत जफत हुने उल्लेख छ । दोस्रो पटक जुवा खेल्ने र खेलाउनेलाई पटकै पिच्छे थप तीन महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्