सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य

0
Shares

 काठमाडौं ।

सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ ।

नेपाल संवत्को राष्ट्रिय मान्यता औपचारिक रूपमा मात्र सीमित भएको गुनासो बढ्दै गएको समयमा गत कार्तिक २७ गते सोमबार मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारको माइन्युट र दस्तावेजमा अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो । नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर मात्र नपुगेकोले यसलाई सरकारी दस्तावेजमा पनि अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको जिकिर गर्दै सरकारले सो निर्णयले नेपाल संवत्लाई सबैको साझा राष्ट्रिय मान्यताको अनुभूति दिलाउने दिशामा महत्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो निर्णयले नेपाल संवत्लाई राष्ट्रव्यापी रूपमा सरकारी कामकाजमा प्रयोग गर्ने ढोका खुलेको बताउनुभयो । नेपाल संवत् न्हूदँ समारोह समितिले नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा वसन्तपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘नेपाल संवत्को पात्रो मिलानको समस्या छ कि भन्ने कहीँकतैबाट प्रश्न पनि उठेको छ । तर निर्णयको मूल पक्ष र मर्म भनेको नेपाल संवत्लाई सरकारी दस्तावेजमा अनिवार्य रूपमा उल्लेख गर्ने हो । अब कुनै पनि बहानामा नेपाल संवत्लाई प्रयोग गर्ने निर्णयलाई रोक्न सकिँदैन । ’

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिएको १५ वर्षपछि सरकारले यो निर्णय गरेको हो । यी दुवै निर्णय ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा भएको छ । पछिल्लो निर्णय पहिलो निर्णयकै महत्वपूर्ण कडी रहेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उहाँले उक्त निर्णयले नेपाल संवत् नेवारहरूको मात्र संवत् भन्ने भम्र हटाउन टेवा पु¥याउने विश्वास पनि व्यक्त गर्दै यसले नेपालको इज्जत, मौलिकता र संस्कृतिलाई स्थापित र सम्मानित गरेको बताउनुभयो ।

यसअघि स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले २०५७ साल मंसिर ६ मा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘शंखघर साख्वाको प्रतिमा बनाउने र सम्मान गर्ने कार्य देशका विभिन्न ठाउँमा भइरहेको छ । देशभित्र मात्र होइन, देश बाहिर पनि शंखधरलाई सम्मान गर्ने कार्य भइरहेको छ । अब यसलाई राष्ट्रव्यापी र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनुपर्ने जरुरी छ ।’

नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गराउन खास गरी नेवाः समुदायका बुद्धिजीवी र जनताले लामो संघर्ष गरेको इतिहास रहेको उल्लेख गर्दै आन्दोलनका प्रणेता स्वर्गीय पद्मरत्न तुलाधरको नामै लिएर उहाँले भन्नुभयो– ‘नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउनको लागि नेवाः समुदायले गरेको लामो संघर्षको हामी सम्मान गर्न चाहन्छौं ।’ नेपाल संवत् नयाँ वर्ष मनाउने कुरामा कुनै खालको सङ्कीर्णता नदेखाउन आह्वान गर्दै उहाँले भन्नुभयो– ‘केही वर्ष पहिलेसम्म नेपाल संवत् नेवारहरूको मात्र संवत् भन्ने एउटा भ्रम थियो । अझै पनि कतिपय मानिसहरू नेपाल संवत्बारे प्रष्ट हुन सकेका छैनन् । नेपाल संवत् राष्ट्रिय गौरव भनेर हिचकिचाउनु पर्ने कुनै कारण छैन । सरकारको निर्णयले यसको महत्वबारे अझ प्रस्ट्याउने छ । जुनसुकै समुदायको भए पनि नेपाल संवत् सबैको साझा र राष्ट्रिय संवत् हो ।’

वि.सं. २०६२-०६३ को जनआन्दोलनयता नेपाल संवत्को नयाँ वर्ष मनाउने क्रममा वसन्तपुरमा आयोजित हुने सभामा सम्बोधन गर्ने क्रममा कार्यकारी प्रमुखले नेपाल संवत्लाई सरकारी दस्तावेजमा उल्लेख गर्ने प्रतिबद्धता जनाउने गरेका थिए । तर, सो प्रतिबद्धता आश्वासन मात्र सीमित हुने गरेको विषयमा यसपटक पनि सम्बद्ध पक्षले गत कार्तिक २० गते सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको थियो । नेपाल संवत् न्हूदँसमारोह समितिका अध्यक्ष प्रा.डा नरेशमान बज्राचार्यका अनुसार त्यतिबेला प्रधानमन्त्री प्रचण्डले यसपटक नेपाल संवत्को अवसरमा सरकारको उपहारस्वरूप ठोस निर्णय गर्ने वचन दिनुभएको थियो ।

सरकारको यो निर्णय महत्वपूर्ण उपलब्धिको रूपमा लिँदै यसलाई क्रमशः कार्यान्वयनमा लानुपर्नेमा जोड दिँदै प्राडा. नरेशमान बज्राचार्यले भन्नुभयो– ‘अब राष्ट्रिय मान्यताअनुरूप नेपाली मुद्रा र नोटहरूमा नेपाल संवत् प्रयोग हुनुपर्छ र नेपाल संवत्को क्यालेन्डर सरकारी स्तरबाट नै प्रकाशन र वितरण गर्ने कार्य पनि क्रमशः थालनी गर्नुपर्छ ।’ सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान मध्यपुर ठिमीले संवत्का प्रवर्तक शखंघर साख्वा र नेपाल सवंत्सम्बन्धी विद्यालय र कलेजस्तरको पाठ्यक्रममा राख्नुपर्ने, शंखधर प्रतिष्ठान स्थापना गर्नुपर्ने भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ ।

यसैबीच सरकारले नेपाल संवत्का प्रर्वतक शंखधर साख्वाले जनताको ऋणमोचन गरेको सन्र्दभ जोडेर उहाँलाई सामाजिक न्यायको प्रतिमूर्तिको रूपमा प्रर्वद्धन गरी साख्वाको नाउँमा पुरस्कार प्रदान गर्ने भएको छ । त्यस्तै, साख्वाको सालिक निर्माण कार्यलाई व्यापकता दिने पनि सरकारीको तयारी रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोको तयारी अघि बढाएको मन्त्री सुदन किराँतीले बताउनुभयो । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक रूपमा पार्टीका निर्णय र दस्तावेजमा नेपाल संवत् प्रयोग गर्ने निर्णय गरेको छ ।