उता न्यानो बास नपाउँदा ५ भूकम्पपीडितको मृत्यु


–अधिकांश भूकम्पपीडितहरू चिसोले थला
–पखला, ज्वरो र रुघाले ग्रसित
–सरकारप्रति पीडितहरूको आक्रोश
जाजरकोट  ।

एक हप्तामा जाजरकोटका विभिन्न स्थानमा न्यानो कपडा र ओढ्ने ओछ्याउने सामग्रीको अभावमा चिसोका कारण पाँच जना भूकम्पपीडितको मृत्यु भएको छ । उनीहरूको चिसो सिरेटोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको हो । केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २ अर्ब १५ करोडभन्दा बढी रकम रहेको छ ।

भूकम्प गएपछिका दिनमा मात्रै १५ करोडभन्दा बढी रकमसमेत सो कोषमा जम्मा भएको छ । त्यसरी जम्मा भएको कोषको रकम जाजरकोट तथा रूकुम पश्चिममा पुग्न सकेको छैन । केन्द्रमा रकम थुप्रिरहँदा उता जाजरकोटमा न्यानो कपडा र बासको व्यवस्थापन हुन नसक्दा पाँच जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राहत कोषमा रकम जम्मा गर्न दिनहुँजसो आग्रह गर्दै आइरहेको छ तर सो रकमको तत्काल व्यवस्थापन गर्न सरकारी निकाय चुक्दै आइरहेको छ । नागरिकहरू चिसोले मर्न बाध्य हुँदासमेत सरकार संवेदनशील बन्न सकेको छैन ।सरकारले भूकम्पपीडितको लागि न्यानो बास र पर्याप्त तातो कपडाको व्यवस्था गर्न सकेको छैन । त्यसैले भूकम्पपीडितहरू चिसोका कारण अकाल मृत्युवरण गर्न बाध्य भएका हुन् । पीडितहरूले सरकारले भूकम्पपीडितहरूको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा जाडोको समयमा निकै कष्टकर जीवन बिताउन बाध्य भइरहेको बताएका छन् ।

भूकम्पपछि त्रिपालमुनिको बसाइका कारण दीर्घरोगी ज्येष्ठ नागरिकको चिसोले मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, वडानम्बर १ रामीडाँडाका ७० वर्षीय डुमे पुनको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी भेरी नगरपालिका–२ का ८० वर्षीय धुलेश्वर कार्की, शुक्रबार नलगाड नगरपालिका–४ लहँका ७० वर्षीय गोपालबहादुर रावल र सोही वडाकी ४७ वर्षीया पम्फा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी सन्तोष रोकाले बताउनुभयो ।

चिसोले मृत्यु भएका कार्की र रावल दमका बिरामी हुन् । त्रिपालमुनिको बसाइले स्वास्थ्यमा समस्या आएपछि चिसो र सिरेटो छल्न न्यानो कपडा तथा बास नभएका कारण मृत्यु भएको छ । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पखाला, रुघाखोकी, ज्वरोका बिरामी दैनिक ५० भन्दा बढी स्वास्थ्य संस्थामा आउने गरेको उहाँले बताउनुभयो । भूकम्पपीडितले समयमा नाना र खाना नपाउनु शीत, चिसो छल्ने कपडा पर्याप्त नहुँदा फोक्सो, मुटु, दमका दीर्घरोगी बिरामीहरू समस्यामा परेका छन् । नियमित औषधि प्रयोग गर्ने नागरिकको घरमै औषधि पुरिएपछि भूकम्पकै झल्को आउन थालेपछि नियमित औषधि खान पाएका छैनन् ।

चिसोले लेकाली भेगका नागरिक थला परेका छन् । नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बद्री पन्तले राहतको भरमा दिनरात बिताएका नागरिक त्रिपालमुनिको बसाइ चिसो, शीतका कारण बिरामी पर्न थालेका छन् ।जिल्लाबाट प्राप्त राहत सामग्री परिवारलाई एक थानका दरले वितरण गरे पनि चिसो छेक्न नसकेका कारण बिरामी पर्ने थालेको वडा अध्यक्ष पन्तको भनाइ छ । उनीहरूमा रुघाखोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता समस्या देखिएको छ ।

सबैभन्दा बढी धनजनको क्षति बेहोरेको नलगाड नगरपालिकाका अधिकांश पीडितमा स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्य शाखाका इन्चार्ज प्रचण्ड कार्कीले बताउनुभयो । शीत र जाडो छल्ने पर्याप्त लत्ता कपडा नहँुदा त्रिपालबाट शीत चुहिने चिसो मौसम अत्यधिक जाडो आगोको भरमा दिनरात बिताउन बाध्य भएपछि स्वास्थ्य समस्या बढेको छ ।

गर्भवती सुत्केरी ज्येष्ठ नागरिक, बालबालिका, निमोनिया, दम, मुटुका रोगीलाई असर गरेको छ । आगो बालेर ताप्नेबाहेक अन्य कुनै विकल्प छैन । भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–३ का नरेश शाहले आफूभन्दा पनि छोराछोरी बिरामी पर्छन् कि भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो । भेरी नगरपालिका–१ रावतगाउँ गरिब, दलित र विपन्न वर्गको बस्ती हो । भूकम्पले त्यस क्षेत्रमा ठूलो धनजनको क्षति गरेको छ । भेरी नगरपालिका–१ का दीपक नेपाली वादीले शीत र जाडो छल्ने कपडा नहँुदा नागरिकहरूलाई स्वास्थ्य समस्या देखिन थालेको बताउनुभयो । त्रिपालमुनि राहत पाएको एक थान सामानले सबै परिवारलाई पुग्ने अवस्था नभएपछि आगो बाल्नुको विकल्प नभएको उहाँले दुखेसो पोख्नुभयो ।

भेरी नगरपालिका–१ रावतगाउँ, मैदे, पिपे, नलगाड नगरपालिका–१ चिउरी, पाली कल्पत दलित गरिब जनजातिको बाहुल्यता भएको क्षेत्र हो । श्रम र ज्यालामजदुरीबाट जीविका चलाएका नागरिकलाई विनाशकारी भुइँचालोले थिलोथिलो बनाएको छ । अधिकांश स्थानमा खेती लगाएको जमिनमा त्रिपाल लगाएर बस्ने गरेपछि गहुँ, चना, मसुरोलगायतका हिउँदे बाली नोक्सान भएका छन् । बेलैमा सरकारले आवास र नानाखानाको व्यवस्था नगरेपछि धेरै क्षति हुने सम्भावना बढेको छ । सरकारले उचित व्यवस्थापन नगरेको भन्दै अधिकांश पीडितहरूले सरकारप्रति आक्रोश व्यक्त गर्ने गरेका छन् ।