७ गते हुने विद्यार्थीको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न अध्यक्ष ओलीको निर्देशन

0
Shares

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते हुने पार्टीको युवा–विद्यार्थीको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न निर्देशन दिएका छन् ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार पार्टी कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले निषेधित क्षेत्र नतोड्न र सरकारले प्रदर्शनका लागि कुनै स्थल तोक्यो भने त्यहीँ मात्र प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।

‘एउटा कुरा म साथीहरुलाई भन्न चाहन्छु, हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधाज्ञा तोड्दैनौं, कुनै समय त्यस्तो आउन सक्छ कालान्तरमा’, उनले भने, ‘…आन्दोलनका क्रममा के हुन्छ त्यो बेग्लै कुरा हो । आज निषेधाज्ञा तोडिदैन, सरकारले स्थल विशेष हामीलाई तोक्यो भने हामी त्यही स्थल विशेषमा केन्द्रित हुन सक्छौं । जुन रुट सरकारले भन्छ त्यो रुटमा हामी चल्न सक्छौं, अहिले अवज्ञा गरेर जानपर्ने खालको स्थिति होइन ।’

अध्यक्ष ओलीले सकेसम्म राता टोपी लगाएर र हरेकले झण्डा बोक्नु राम्रो हुने बताए । प्रदर्शनमा कसैप्रति जाइ नलाग्न र संयमित हुन पनि उनले निर्देशन दिए ।

उनले पार्टीको प्रदर्शनस्थल पनि अहिले माइतीघर तोकिए पनि पछि परिवर्तन हुन सक्ने बताए । ‘११ बजे माइतीघर मण्डल अहिले भनिएको छ, त्यो स्थान फरक पनि पर्न सक्छ भोलि गएर, सरकारले विभिन्न कारण त्यसलाई निषेधित क्षेत्र भन्यो भने अरुतिर जानुपर्ने हुन सक्छ, रत्नपार्क पनि जानपर्ने हुन सक्छ । त्यसो भयो भने सूचना आइहाल्छ’, ओलीले भने ।