जाजरकोटमा कांग्रेस छुट्यो भनेर राष्ट्रपति पौडेल आफैं पुगे : ओली

0
Shares

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित विशेष भेलालाई सम्बोधन गर्ने क्रममा उनले एक वर्षको अवधि नपुग्दै राष्ट्रपति पौडेलले अलोकतान्त्रिकता र पक्षपातपूर्ण व्यवहार देखाएको बताए।

‘राष्ट्रपतिज्यूले तनहुँ गएर घन्टीको यत्रो बिगबिगि भएको बेलामा कांग्रेसलाई भोट दिएकोमा मतदातालाई धन्यवाद भन्नुभयो। रुखमा भोट हालेकोमा धन्यवाद दिनुभयो। कति निष्पक्ष राष्ट्रपति होला? उहाँको निष्पक्षताको कुरा त गर्दै नगरौं। थुप्रै कुराहरू आइसकेका छन्,’ ओलीले भने।

उनले संविधान जोगाउने भन्दा पनि सक्काउनेतिर राष्ट्रपतिसहित राज्यका निकायहरू लागेको आरोप समेत लगाए।

‘एक वर्ष पुग्नुअघि नै उहाँले आफ्नो क्रियाकलापहरू देखाइसक्नुभयो। अलोकतान्त्रिकता, पक्षपातपूर्ण, संविधानको मतलब छैन, संविधान अनुसार सरकार, देश, राष्ट्रपति, प्रधानमन्त्री र राज्यका निकाय चल्नुपर्ने थियो। तर संविधान सक्नेतिर उहाँहरू लाग्नुभएको छ,’ उनले भने।

त्यस्तै, जाजरकोटमा गएको भूकम्पमा कांग्रेस छुट्यो भनेर राष्ट्रपति पौडेल आफैं पुगेको उनको आरोप छ।

‘राष्ट्रपति जाजरकोट किन गएका? राष्ट्रपति किन जानुभयो? कति मान्छे मरेका भनेर उहाँले सुन्नुभएकै थियो, टेलिभिजन हेर्नुभएकै थियो। त्यो भन्दा अगाडि खबर आइसकेको थियो,’ उनले अघि भने, ‘नेताहरूको भिडले सेना प्रहरी खट्नुपर्यो भन्ने आएकै थियो। अनि माओवादी गयो भने कांग्रेस किन जानुपर्‍यो, राष्ट्रपतिज्यू? कांग्रेस छुट्यो भनेर उहाँ त्यहाँ जानुभयो।’