नेपाल संवत् नयाँ वर्ष मनाउन ताम्रकार समाजद्वारा महानगरपालिकालाई ध्यानाकर्षण

28
Shares

ललितपुर।

ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारले नेपाल संवत्को राष्ट्रिय मान्यता अनुरुप नेपाल संवत् नयाँ वर्ष मनाउन ललितपुर महानगरपालिकाले पहलकदमी लिनुपर्नेमा जोड दिएका छन् ।

समाजले नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा शनिबार जावलाखेलस्थित श्री उग्रचण्डीमाई परिसर ताम्रकार कूलदेवता परिसमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा उनले सो जोड दिएका हुन् ।

प्रत्येक वर्ष ललितपुरका जातीय समाज, खलः पुचको संयोजनमा नेपाल संवत् नयाँ मनाउँदै आइरहेको सन्दर्भ जोड्दै अध्यक्ष ताम्रकारले भने ‘अब राष्ट्रिय मान्यतालाई व्यवहारमा अनुवाद गर्ने महानगरपालिकाले सहकार्य, संयोजन गर्नुपर्दछ । अनि पो नेपाल संवत् राष्ट्रिय संवत् भन्ने भाव जनजनमा सम्प्रेषण हुन टेवा पु¥याउँछ ’
‘संघीय सरकारले नेपाल संवत्लाई सरकारी माईन्युट र दस्तावेजमा अनिवार्य प्रयोग गर्ने निर्णय गरिसकेको, वाग्मती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजी भाषा बनाउने विधेयक पारित गरेको स्थितिमा स्थानीय तहकै अग्रसरतामा नेपाल संवत् नयाँ वर्ष मनाउनुपर्ने उपयुक्त हुनेछ । ’ उनले भने ।

स्वर्गीय कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले नेपाल संवत्का प्रर्वतक शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको दिन २०५७ मंसिर ७ गतेलाई स्मरण गरी प्रत्येक वर्ष सोही दिन महानगरपालिकाले आयोजना गर्दै आएको कार्यक्रम केही वर्षदेखि रोकिएकोमा अध्यक्ष ताम्रकारले ध्यानाकर्षण गराए।

सो अवसरमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो सम्बन्धमा आगामी कार्यपालिका बैठकमा प्रस्ताव राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल भाषा मंका खलः यलसंग सहकार्य गरी खोकना, बुंगमती, हरिसिद्धि र धापाखेलमा शंखधर साख्वाको सालिक राख्ने कार्य सम्पन्न भएको पनि जानकारी दिए।

सो अवसरमा ललितपुर क्षेत्र नं २ का सांसद् प्रेम महर्जन, वाग्मती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा सामान्य पशासन मन्त्री रामकृष्ण चित्रकार, नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, नेपाल भाषा मंका खलः यलका अध्यक्ष हिराकाजी महर्जन र समाजका उपाध्यक्ष शम्भुगोविन्द ताम्रकार लगायतले नेपाल संवत्को नेपालकै मौलिक, ऐतिहासिक गौरवको संवत् रहेकोले यसको  प्रर्वद्धन गर्नुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो भनाई राखे ।