लप्सीफेदीमा सुरक्षाकर्मीमाथि आक्रमण, डीएसपीसहित ३ जना घाइते

0
Shares

काठमाडौँ। 

 काठमाडौंको शंखरापुर नगरपालिका- ३ लप्सीफेदीका स्थानीय बासिन्दाले सबस्टेसन निर्माण र सुरक्षा पोस्ट स्थापना गर्न गएका सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । सबस्टेसन निर्माण र सुरक्षा पोस्ट स्थापना गर्न गएका सशस्त्र र नेपाल प्रहरीकाथी स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।

त्यसक्रममा डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएका छन् ।