दुई व्यक्तिको एउटै नागरिकता नम्बर भएपछि… 

0
Shares

महाेत्तरी । 

नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर, दुई वटामा नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना बाहिरिएको छ ।

महोत्तरीस्थित बर्दिवास-२ मा पूर्ण भूमिहीनको तथ्यांक संकलन गर्ने क्रममा फरक-फरक दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाइएको हो ।

संयोगले नाम र वुवाको नाम मिले तापनी उनीहरु फरक-फरक व्यक्ति हुन् । २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिबासले बर्दिवास-८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास-२ का दलबहादुर भुजेलको नम्बर एउटै रहेकाे खुलेको हो ।

अचम्म त कहाँनिर छ भने उनीहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र मिलेको छैन जन्ममिती, बुवाको नाम समेत मिलेको छ । तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक-फरक मितिमा भएको देखिएको छ । अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास-२ बस्ने भुजेलको नागरिकता  एकदिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ ।

बर्दिवास-२ को वडा कार्यालयले पूर्ण भूमिहीनको सुची बनाएर मालपोत कार्यालय पठाउदा मालपोतमा दलबहादुर भुजेलको नाममा १० धुर जग्गा देखिएपछि  खोजीको विषय बनेको थियो । पुस्तौँदेखि जग्गा नै नभएका बर्दिवास-२ का दलबहादुर भुजेलको नाममा कसरी १० धुर जग्गा रह्यो ? भन्ने विषयमा स्थानियहरु आफैले खोजी गरेका थिए । यो विषयमा बुझ्न जनप्रतिनिधि एकबहादुर भुजेल आफै खटिए । नाताले मामा पर्ने पूर्ण भुमहिन रहेका एकबहादुरले मामाको नाममा १० धुर जग्गा रहेको मालपोत कार्यालयले प्रमाण पठाएपछि अचम्ममा परेका थिए ।

सुरुमा उनी प्रशासन कार्यालय भन्दा पनि भुजेल बंशमा दलबहादुर भुजेल नाम भएका व्यक्तिहरुको खोजीमा लागे । खोजी कै क्रममा हात्तिलेटबस्ने दलबहादुर भुजेलसगँ मामाको नागरिकताको सबै मिलेपछि अहिले एकबहादुरले घरमा नै पुगेर सो नागरिकता आफ्नो साथमा ल्याएका छन् ।

तर एकबहादुरका मामा पनि हात्तिलेटवाट नै बसाई सरेर बर्दिवास-२ मा आएका थिए । तत्कालीन समयमा नागरिकता जारी गर्दा दुवै भुजेलहरुको ठेगाना पनि हात्तिलेट नै थियो । जारी मितिबाहेक नागरिकतामा सबै मिलेपछि पूर्ण भूमिहीन भनिएका मामालाई नगरपालिकाले वितरण गर्ने भनिएको जग्गामा समेत अफ्ठ्यारो स्थिती सिर्जना भएको छ ।

अझ हात्तिलेट बस्ने दलबहादुर भुजेलले त मुक्तिनाथ विकास वैकंवाट कर्जा समेत लिएको बुझिएको छ। एउटै नागरिकता लिएर दुई फरक-फरक ब्यक्तिहरुले अहिलेसम्म गरेका सरकारी कामहरुमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

नागरिकतामा दुई व्यक्तिहरुको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने विषयमा आफूलाई पनि अचम्म लागेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल बताए ।

`दुवै नागरिकता २०४४ सालमा टोलीबाट बनाएको देखिएको छ,´ प्रमुख जिल्ला अधिकारी गेलालले भने, `हामी उक्त त्रुटिको विषयमा खोजी गर्नेछौ ।´ दुवै भुजेलको नागरिकता तत्कालीन टोली प्रमुख बालचन्द्र खनालले जारी गरेको देखिएको छ ।

यो दुवै नागरिकताको विषय नटुंगेसम्म पूर्ण भूमिहीन भनिएका भुजेलले जग्गा समेत नपाउने भएका छन् । `कानुनीरुपमा उनकाे नाममा जग्गा देखिए पछि वडाले पनि उनकाे हितमा केही गर्न सक्दैन,´ वडा कार्यालयका कम्प्युटर अपरेटर विनोद पौडेलले भन, `हामी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई चिठी पनि पटाउँदै छौ ।´