अनाथ बालबालिकाको स्याहार सुसार, पालनपोषण र शिक्षाका लागि  महायज्ञ 



बुटवल। 

रामचन्द्र–मैनादेवी अनाथ आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहार सुसार, उनीहरुको पालनपोषण, शिक्षादिक्षाका लागि  १ करोड अक्षयकोष पुर्‍याउने  लक्ष्यसहित पाँचौँ  महायज्ञ सुरु गरिएको छ ।

तीन दशकदेखि अनाथ–असहाय बालबालिकाको पालनपोषण र शिक्षा दिक्षामा समर्पित छिन् रुपन्देही तिलोत्तमा–६ की मैनादेवी भण्डारी  बुबाको समाजसेवाबाट प्रभावित मैनादेवीले २०५३ सालमा रुपन्देहीको साबिक आनन्दवनमा बाबुआमा गुमाएका साहारा विहीन अनाथ बालबालिकाका लागि गाँस, बास, कपास र शिक्षादीक्षाको लागि अनाथ आश्रम स्थापना गरेकी  हुन् । आश्रम स्थापना गरेपनि आफ्नै भवन र सञ्चालन खर्च नभएपछि मैनादेवीले शुरुका डेढ दशक गाउं गाउं डुलेर मुट्ठीदान संकलनबाट आर्थिक स्रोतको जोहो गरेकी हुन् ।

आश्रित बालबालिकालाई राशनपानी, लत्ताकपडा, शिक्षादीक्षा, औषधी उपचारमा मैनादेवीले आफ्नो व्यक्तिगत २५ लाख रुपैयाँ सकेकी छन्  । अनाथ असहाय बालबालिकाप्रति मैनादेवीको समर्पण देखेर पछिल्ला वर्षहरुमा विभिन्न सामाजिक संघसंस्था र दाताहरुले खाद्यान्न लगायत आवश्यक जिन्सी सहयोग गर्न थाले । ६२ वर्षीय मैनादेवी र उनको परिवारका अधिकांश सदस्य रामचन्द्र–मैनादेवी अनाथ आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहार सुसार, उनीहरुको पालनपोषण र शिक्षा दिक्षाका लागि बिहानदेखि रातिसम्म खटेर आफै काम गरिरहेका छन् । किनकि आर्थिक स्रोतको अभावमा  काम गर्ने कर्मचारी राख्न सकेकी छैनन्  ।

अहिले आश्रममा १२ जना बालक छन् । उनीहरुले तिलोत्तमाकै शान्ति नमूना माविमा पढिरहेका छन् । चार वटा महायज्ञ पनि लगाइन्  । जसबाट ५२ लाख रुपैयाँ संकलन भयो । तर त्यसको ब्याजबाट आउने मासिक ४२ हजार रकमले १२ जना बालबालिकालाई खाना, खाजा, कपडा, स्टेशनरी लगायत सामान किन्न रकम अपुग भएकाले अक्षयकोषको रकम एक करोड पु¥याउने लक्ष्य सहित पाचौं महायज्ञ आयोजना गरेको उनले बताइन  ।

१२ जना बालबालिकाको पालनपोषण र शिक्षा दीक्षासहित २ जना कर्मचारीलाई तलब दिन महिनामा कम्तीमा एक लाख रुपैयाँ खर्च हुने र त्यसका लागि अक्षयकोष एक करोड पुग्नुपर्ने उनको भनाई छ ।

महायज्ञको शुभारम्भ गर्दै तिलोत्तमाका मेयर रामकृष्ण खाँणले आश्रम स्थापना गरी अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दीक्षा दिनु सबैभन्दा ठूलो मानवीय धर्म भएको भन्दै नगरपालिकाले आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । महायज्ञमा प्रेमसुजन शास्त्री प्रमुख कथावाचक र निशान्त अधिकारी उपवाचक सहित ११ जना पण्डितहरुले संगीतमय कथावाचन गर्ने तथा ७ जना कलाकारको टोलीले झाँकी र लीलासहित गीत र नृत्यमार्फत भक्तजनहरुलाई मनोरन्जन दिलाउने छन् ।

प्रतिक्रिया दिनुहोस्