‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’मा पाँच नेपाली राइडर

14
Shares

काठमाडौँ।

भारतको गुवाहिटीमा सुरु भएको ‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’ प्रतियोगितामा नेपाली पाँच जना राइडर पनि सहभागी भएका छन् ।
चर्चित मोटरबाइक कम्पनी हिरोले सञ्चालन गरेको रेस प्रतियोगितामा पाँच जना नेपाली राइडर सहभागी भएका हुन् ।

नेपालमा आधिकारिक रुपमा दर्ता भएको एक्सपल्स राइडर्स नेपाल, क्लबमा आबद्ध भएका राइडरहरु बिहीबारदेखि सुरु भएको रेसमा सहभागी भएका हुन् ।
प्रतियोगितामा सहभागी भएका नेपाली राइडरहरु मुकुन्द पोखरेल, रामविक्रम थापा, आशुतोष खत्री, अभिषेक सिटौला र सन्तोष श्रेष्ठ छन् ।

उनीहरु बुधबार पशुपतिमा पूजा गर्दै नेपालको झण्डा फहराएर भारत प्रस्थान गरेका थिए । पशुपतिमा भएको बिदाई कार्यक्रममा नेपाल टूरिजम फेस्टिभलका संस्थापक विष्णु विवेक र एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले पाँच जना राइडरलाई संयुक्त रुपमा नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

राइडरहरुलाई एक्सपल्स राइडर्स नेपाल, क्लबका सदस्यहरुले आर्थिक सहयोगसमेत गरेका छन् । राइडर क्लबका सदस्यको सहयोग र हौसलाले भारतमा जारी प्रतियोगितामा जित हात पार्न थप मनोबल बढेको भारत प्रस्थान गरेका राइडरमध्ये मुकुन्दराज पोखरेलले बताए ।

‘पहिलोपटक यसरी प्रतियोगितामा सहभागी हुन पाउँदा खुशी लागेको छ’ उनले भने, ‘एक्सपल्स राइडर्स नेपाल, क्लबका सदस्य, नासा र साथीहरुको सहयोग र हौसला लिएर रेसमा जान पाउँदा हौसला बढेको छ ।’