भाइटीका महोत्सवमा ६८ जना पर्यटक सहभागी



कास्की। 

पर्यटकीय नगरी पोखरामा बुधवार आयोजित १६ औँ भाइटिका महोत्सवमा देश विदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएका छन् ।

होटल संघ पोखरा नेपालले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अमेरिका, अस्ट्रेलिया, इजरायल, वेलायत, जापान, डेनमार्क लगायत देशका पर्यटकले टिका लगाएका थिए ।

संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौं भन्ने नाराका साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यस्तो महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइड स्थित होटल ल्याण्डमार्कमा यो  पटक महोत्सव भएको थियो । रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । टिका र माला लगाएपछि टोपी, सल र सेलरोटी लगायतका उपहार पर्यटकलाई प्रदान गरिएको थियो । छात्राहरुले महोत्सवमा देउसी भैलो गीत गाए अनि नाचगान देखाए । रमाइलो मान्दै पर्यटक पनि उनीहरुसँगै सहभागी भए ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्य पनि महोत्सवले लिएको उनले बताए ।

कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने विश्वास व्यक्त गरे । विदेशी पाहुनाहरुले उत्सुकतापूर्वक महोत्सवमा भाग लिएको र टिका लगाई नाचगानमा रमाएको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन् ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम वियरले महोत्सवलाई सघाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्