सुन्दरताले भरिपूर्ण म्याग्दीको बेलढुङ्गा (तस्बिरसहित)



म्याग्दी। 

 उत्तरतिर फर्किएर हेर्दा दन्ते लहर जस्तै सेताम्य हिमालहरु देखिने । पूर्वतर्फ हेर्‍यो भने ओठमा लाली भरेजस्तै सूर्योदयको रोमाञ्चक दृश्य । तलतिर निहुरिँदा म्याग्दी र बागलुङका बेंसी फाँटमा पहेंलपुर धान झुलेको । तरेली परेका पहाडका थुम्काको सुन्दरता र ग्रामीण बस्तीको सौन्दर्यलाई धित मरुन्जेल नियाल्न पाइने बेलढुङ्गाको बारेमा थाहा सायद कमैलाई हुनुपर्छ ।

ग्रामीण बस्तीको सुन्दर दृश्य अनि हिमालको साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । बेलढुङ्गा पुग्नका लागि उकालो चढ्दा लागेको थकान हराउनुका साथै बिहानको सूर्योदयले मनमा झन् आनन्द थपिदिन्छ । हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकन गर्न सकिने बेलढुङ्गाको बारेमा बयान गरिसाध्य छैन । हिमाललाई नजिकबाट हेर्न, पुस र माघमा पर्ने हिउँ खेल्न तथा लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुने गर्छन् ।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली र छिमेकी बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३, धम्कास्थित ओख्लेको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा हिजोआज स्वदेशी पर्यटकहरु भ्रमण गर्ने गन्तव्य बनेको छ । बेलढुङ्गाको भ्रमणका लागि यहाँ पुग्ने पर्यटकहरुले फरक अनुभूति गर्छन् । पछिल्लो समय बेलढुङ्गा स्वदेशी पर्यटकको रोजाइमा परेको छ । म्याग्दीको भकिम्ली र बागलुङको धम्जामा कार्यक्रम लिएर जानेहरु पनि एकपटक बेलढुङ्गा पुगेर फर्कन्छन्।

समुन्द्री सतहदेखि २ हजार ७ सय मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट धौलागिरि रेञ्ज र अन्नपूर्ण रेञ्जमा पर्ने सबै हिमालहरु स्पष्टसँग देख्न सकिन्छ । यहाँबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि हिमाल, दसौँ अग्लो चुचुरो अन्नपूर्णसहित पूर्वी रुकुममा पर्ने सिस्ने हिमाल तथा सैपाल, चुरेन, गूर्जा, मानापाथी, धौलागिरि प्रथम, चौथो, निलगिरी नर्थ, साउथ, अन्नपूर्ण नर्थ, साउथ, लमजुङ, मनास्लु, माछापुच्छे«, गङ्गापूर्ण, बराहशिखरलगायत डेढ दर्जन बढी हिमालहरु देख्न पाइन्छ । म्याग्दी र बागलुङका अधिकांश भू–भाग, पर्वत, मुस्ताङ, गुल्मी, पूर्वी रुकुमलगायत जिल्लाको डाँडाकाँडा देखिन्छन् ।

बेलढुङ्गा क्षेत्रमा एकपटक पुगेका जो कोही पनि पटकपटक आउने गरेको स्थानीयवासी बताउँछन् । बेलढुङ्गाको पर्यटन प्रवर्द्धन गर्नका लागि बेनी नगरपालिका र काठेखोला गाउँपालिकाको लगानीमा पर्यटकीयस्थल बेलढुङ्गासम्म पुग्न सडकको पहुँच विस्तार, पदमार्ग निर्माण, भ्यू–प्वाइन्ट स्थापनालगायत संरचनाहरु निर्माण गरिएको भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनले जानकारी दिए । उनले बेलढुङ्गा क्षेत्रमा खानेपानी तथा शौचालयको निर्माण, खानेबस्ने ठाउँको व्यवस्था र अन्य पर्यटकलक्षित संरचना बनाउन आवश्यक पहल थालिएको बताए । मनोरम हिमश्रृङ्खलासहितको दृश्य अवलोकन गर्नका लागि बेलढुङ्गा उत्कृष्ट स्थानको रुपमा रहेको छ ।

बेलढुङ्गा आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक मानिन्छ । बेलढुङ्गाको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यमा भकिम्लीवासी र धम्जावासीहरु लागिपरेका छन् । बेलढुङ्गासम्म सडकको पहुँच विस्तारसँगै पदमार्ग र गेट निर्माणपछि अहिले स्वदेशी पर्यटकहरुको आकर्षण बढेको छ । म्याग्दी र बागलुङबाट नजिकको दूरीमा पर्ने बेलढुङ्गामा शनिवार, विदाको दिन र चाडपर्वको समयमा पर्यटकहरु रमाइलो गर्न पुग्ने गरेका छन् ।

पर्यटकीयस्थल भएर पनि सुनसान जस्तै रहेको बेलढुङ्गाको विकासका लागि छ वर्षअघि भकिम्ली वडाले एकलाख रुपैयाँ बजेट विनियोजन गरी पदमार्ग निर्माण थालेको थियो । म्याग्दी र बागलुङबाट सडकको पहुँच पुगेपछि गाउँमा होमस्टे, पार्किङको सुविधा तथा बेलढुङ्गासम्म पदमार्ग बनेपछि पछिल्लोपटक भ्रमणमा जाने पर्यटकहरुको सङ्ख्या बढेको छ । देउराली धुरीदेखि बेलढुङ्गासम्म स्लेट ढुङ्गा बिच्छ्याएर रेलिङसहित ५ सय २५ वटा सिँढीसहित पक्की पदमार्ग बनाइएको छ । सडकबाट पदमार्ग हुँदै १० मिनेटमा बेलढुङ्गाको टुप्पोमा पुगेर मज्जाले रमाउन सकिन्छ ।

पहाडको टुप्पोमा बेलको जस्तो आकारमा ढुङ्गा बसेकाले बेलढुङ्गा नामकरण भएको स्थानीयवासीको भनाइ छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पले बेलढुङ्गामा समेत क्षति पु¥याएको थियो । स्थानीयवासीले भूकम्पले क्षति पु¥याएको बेलढुङ्गाको मर्मतसम्भार पनि गरेका थिए । पर्यटकीयस्थल बेलढुङ्गाको भ्रमण गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर भकिम्ली र ओख्लेमा होमस्टे कार्यक्रम सञ्चालन गरिएको छ ।

अहिले गाउँमा पर्यटक तान्नका लागि स्थानीयवासीहरु बेलढुङ्गाको प्रचारप्रसारमा लागिपरेका छन् । म्याग्दीको धेरै ठाउँको भ्रमण गरेको भए पनि बेलढुङ्गाबाट देखिने हिमालको मनोरम दृश्यावलोकनसहित डाँडाकाँडा र ग्रामीण बस्तीको सौन्दर्य निकै आकर्षक देखिने स्वदेशी पर्यटक कृष्णबहादुर जिसीले अनुभव सुनाए ।

प्रतिक्रिया दिनुहोस्