नेपाल संवत्लाई भ्रममा पार्ने असत्य कुरा

14
Shares

नेपालसंवत् कार्तिक शुक्ल प्रतिपदाबाट थालनी हुने संवत् भएकोले यसलाई कार्तिकादि संवत् पनि भन्ने गरिएको छ । यो संवत् १ देखि थालनी भएकोले यसलाई नयाँ संवत् पनि भन्ने चलन छ । तापनि, यसको मुख्य धरातल जग भने लिच्छविकालमा चलेको संवत् नै हो भन्ने पनि यहाँ बिर्सन मिल्दैन ।

त्यसैले, नेपालसंवत्लाई लिच्छविकालमा चलेको संवत्को नयाँसंस्करण मात्र हो भन्न सकिन्छ । किनभने लिच्छविकालमा चलेको संवत्को संस्कृति संस्कार परम्परा रीतिरिवाज यावत् सबै नेपालसंवत्मै समाहित भई रहेको छ । यद्यपि, लिच्छविसंवत् र नेपालसंवत्बीच एउटै मात्र अन्तर रहेको पाइन्छ, त्यो ८०२ वर्ष को ।
किनकि, अहिले नेपालसंवत् ११४३ बाट ११४४ मा प्रवेश गर्दैछ भनेझैँ लिच्छविसंवत् पनि १९४५ बाट १९४६ मा प्रवेश गर्दैछ । यहाँ १९४५ र ११४३ लाई लिएर हेर्दा पनि ८०२ वर्षको अन्तर नै देखिन्छ भने १९४६ र ११४४ लिएर हेरियोभने पनि ८०२ वर्षकै अन्तर देखिने गर्दछ । अतः नेपालसंवत्मा ८०२ जोडेपछि लिच्छविकालमा चलेको लिच्छविसंवत् आउने हो र यसको मुख्य कारण यी दुवै कार्तिकादि संवत् भएकोले पनि हो भन्ने स्पष्ट हुन्छ । तर, नेपालमा इतिहासमा कलम चलाउने लेखक तथा इतिहासकारहरूले नै नेपालसंवत्लाई प्रभाव पार्ने गरी हरहमेशा भ्रम फैलाउनमै उद्यत रही असत्य कुरा मात्रै सम्प्रेषण गर्दै आएकोदेख्न पाइएका छन् । ती असत्य कुरालाई कसरी पन्छाउँंदै जानुपर्ला भन्ने विषयवस्तुमा केन्द्रित भई यो लेख तयार गरिएको छ ।

नेपालसंवत् चैत्रादि नै होइन, तर चैत्रादि भनियो

विक्रमसंवत्लाई नियालेर हेर्ने हो भने बेला–बेलामा यसले आफनो हुलिया बदलेको देख्न पाइन्छ । मल्लकालका कतिपय अभिलेखहरूमा विक्रमसंवत् पनि कार्तिकादि नै देखिए कालान्तरमा आएर वैशाखादि भएर व्यवहारमा लागू भएको दृष्टान्त देखिन्छ। नेपालसंवत् शुरुदेखि अहिलेसम्म कार्तिकादि नै छ । यसले विक्रमसंवत्लेझैं त्यसरी कहिल्यै पनि हुलिया बदलेको छैन । तर, भ्रम फेलाउनेहरूले आफ्नो लेख र पुस्तकमा नेपालसंवत्लाई नेवारहरूको संवत् मात्र भनिएन कि चैत्रशुक्ल प्रतिपदाबाट पनि शुरु हुने गर्दथ्यो भनेर असत्य कुरा सम्प्रेषण गर्दै आए । त्यो यस प्रकार छ ।

जस्तै : नेवारहरूको संवत् सिद्धान्ततः कार्तिकशुक्लप्रतिपदामा शुरु हुने भए तापनि व्यवहारतः चैत्रशुक्लप्रतिपदामै शुरु हुन्थ्यो……..यसैबीच बराबर व्याख्यान गर्न लाग्नुभयो र आफनै घरमा भएका, हातले लेखिएको पुरानो नेवारी पात्रो र पात्रो गन्ने पुरानो लेखोट ठ्यासफू पल्टाई पल्टाई देखाउन लाग्नुभयो ।यो कुरा इतिहासकारले सम्प्रेषण गरेको भएतापनि यो कुरा हिजो पनि असत्य थिए आज पनि असत्य नै हुन् भोलि गएर पनि असत्य नै हुन्छ । यसमा नेपालसंवत्लाई भ्रामक बनाउने नियत शिवाय अरु होइन भन्ने अहिले स्पष्टरूपले देखिएको छ।

अहिले विक्रम संवत् २०८० छ । यो २०८० साल भनेको नेपालसंवत् ११४३को वैशाखदेखि ११४४ को चैत्रसम्म भनियो भने नेपालसंवत् पनि वैशाखादि ठहरिने होइन । त्यस्तै, नेपालसंवत् ११४४ भनेको विसं २०८० को कार्तिकदेखि विसं २०८१ को असोजसम्म रहन्छ भनियो भने विक्रमसंवत् पनि कार्तिकादि ठहरिने होइन ।
यस्तै, भनेझैं नेपालसंवत् ७९७ को वैशाखदेखि नेपाल संवत् ७९८को चैतसम्म विक्रमसंवत् १७३४ रहन्छ भनेर दिइएको उदाहरण दिएर नेपालसंवत् पनि चैत्रादि थिए भनेर व्याख्यान गर्दै आएको हुँदैमा नेपालसंवत् चैत्रादि बनेको होइन,भ्रममा नपरौं ।

यो कुरा इतिहासकारले भनेको भनेर त्यसैको पछि लाग्न थाल्यौं भने कागले कान लग्यो भनेर कागको पछि लागेजस्तै हो । नेपालमा ठूला इतिहासकार भनाउँदाले भनेको भएपछि आँखा चिम्लेर पछ्याउनेहरू नै धेरै देखिएका छन् । कान छाम्नेले पहिले अभिलेख प्रमाणलाई हेरेर नेपालसंवत् कहिल्यै चैत्रादि भएको छैन भनी दृढ निश्चय गरेर मात्र लेख्छ । यस्ता असत्य कुराहरू जताततै छताछुल्ल छर्दै आएका छन् ।

शकसंवत् पनि कार्तिकादि होइन, तर कार्तिकादि भनियो

जसरी नेपालसंवत् चैत्रादि भएको छैन त्यसरी नै शकसंवत् फेरि कार्तिकादि भएको छैन ।तर, व्याख्या गर्नेहरूले शकसंवत् पनि कार्तिकादि छ भनेर भनियो । यदि, व्याख्या गर्दैमा भेडा पनि खसी भनेर व्याख्या गर्दा खसी भएको उदाहरण कहीं पनि पाइंएको छैन । व्याख्या गर्नेहरूले त नेपालमा शकसंवत् चले भनेर पनि व्याख्या गरे, ३०४ वर्ष मानदेवसंवत् चले भनेर पनि व्याख्या गरे । तर, व्याख्या गर्दैमा साकार हुन सक्दैन । वास्तवमा यो कुरा अँध्यारो ठाउँमा बसेर व्याख्या गर्दा होकी भनेर पनि पत्याउनेहरू धेरै देखा परे । तर, अहिले यो कुरा घाममा ल्याएर देखाउनेबित्तिकै नेपालमा शकसंवत् चलेको पनि होइन रहेछ र मानदेवसंवत् चलेको पनि होइन रहेछ भन्ने छर्लंगै हुन आएको छ ।

त्यो घाम भनेको पनि वास्तवमा नेपालसंवत् नै हो । नेपालसंवत्को उठान भएको मिति विक्रमसंवत्बाट भन्नेगर्दा ९३६ कार्तिक, शकसंवत्बाट भन्दा ८०१ कार्तिक र इस्वी संवत्बाट भन्दा ८७९ अक्टोबर(कार्तिक) भन्न नजानेका कोही पनि छैन । यदि, नजानेको भए मोटोमोटो बाक्लो–बाक्लो पुस्तकहरूमा यो कुरा कतै उल्लेख हुनु नपर्ने हो । तब नेपालसंवत् १ भनेको विसं ९३६ को कार्तिकदेखि विसं ९३७ को असोजसम्म बस्ने रहेछ शकसंवत् पनि ८०१ को कार्तिकदेखि शक ८०२ को असोजसम्म बस्ने रहेछ र इस्वीसंवत् पनि ८७९को अक्टोबरदेखि ८८० को सेप्टेम्बरसम्म बस्ने रहेछ भन्ने हेक्का पनि ती पुस्तक लेख्नेहरूमा अवश्यै हुुनुपर्ने हो ।

यदि, यो कुरा हेक्का राखेकै हो भने नेपालसंवत् र विक्रमसंवत् को बीचमा ९३५ र ९३६ को अन्तर हुने रहेछ शकसंवत्मा ८०० र ८०१ अन्तर हुने रहेछ र इस्वीमा ८७८ र ८७९ अन्तर हुने रहेछ भनेर पनि अवश्यै बुझनुपर्ने हो । तर, यो कुरा भने ती मोटामोटा पुस्तक लेख्ने लेखकहरूले पनि कहिल्यै बुझ्ने प्रयास गरेको देखिएको छैन ।हो यहाँसत्य कुरो दबाउने र असत्यको मात्र प्रचार भइरहेको पनि छर्लंग हुन आएको छ । यदि, असत्यको प्रचार मात्र नभएको भए नेपालसंवत् ७५० हुँदा शकसंवत् कति हुने हो विक्रमसंवत् कति हुने हो सहजेै बुझन सक्थे । तर, बुझ्न सकेन भन्ने कुरा भक्तपुर सिद्धपोखरी नजिकै सल्लाघारीसँगै रहेको पोखरीको पाटीको भित्तामा नेपालसंवत् ७५० को राजा जगज्योति मल्लको शिलालेखलाई अपव्याख्या गर्दै आएबाटै स्पष्टहुन्छ । त्यस शिलालेखमा ने.सं ७५० पौष कृष्ण एकादशी बुधबारको दिन पोखरी बनाउने काम शुरु गरेर ने.सं ७५० वैशाखकृष्ण द्वादशी बृहस्पतिबारको दिन पूर्ण गरी पुष्करिणी प्रतिष्ठा गरियो भनेर उल्लेख गरिएको छ ।

माथि चर्चा गरिएबमोजिम नेपालसंवत्मा ८०२ जोडेपछि लिच्छविसंवत् आउने हुनाले नेसं ७५० मा ८०२ जोड्दा लिच्छविसंवत् १५५२ हुने निश्चित छ । साथसाथै, नेपालसंवत् कार्तिकादि भएझंै लिच्छविसंवत् पनि कार्तिकादि नै भएकोले पौषमा ७५० भएको नेसं वैशाखमा पनि ७५० नै भइरहेझैं लिच्छविसंवत् पनि पौषमा १५५२ र वैशाखमा पनि १५५२ नै रहे । त्यतिबेला, भूलवश यस अभिलेखमा यही लिच्छविसंवत् १५५२ लाई शाकेसंवत् भनेर संवत्को नाम उल्लेख गरी दिएको पाइन्छ । तथापि,यहाँ लिच्छविसंवत्लाई शाके भनुन्जेल पनि आपत्ति होइन ।तर, शाके र शक एउटै हो भन्नुचाहिँ आपत्तिको विषय हो । व्याख्यान गर्नेले भेडालाई खसी भने भन्दैमा भेडा खसी बन्दैन भनेझैं यहाँ पनि व्याख्या गर्नेले शक र शाके एउटै हो भने तापनि शक र शाके एउटै हुन सकेको देखिँदैन । कारण र प्रमाण स्पष्ट नै छ कि नेपालसंवत्मा ८०० र ८०१ जोडेपछि शकसंवत् आउने रहेछ र नेपालसंवत्मा ८०२ जोडे पछि लिच्छविकालमा चलेको संवत् आएको हो ।

व्याख्यान गर्नेहरूले यसलाई शाकेसंवत् भनी दिए, यस्तै रीतले गलत व्याख्या गर्दा गर्दै शाकेसंवत् भनेकोलाई पनि शकसंवत् भनेर पनि व्याख्या गर्न पुगे । फेरि कुरो आउँछ उही कागलाई मयुरको प्वाँख लगाइदिंदैमा काग मयूर कहिल्यै बन्दैन । त्यस्तै,भनाइको तात्पर्य यही हो कि, लिच्छविसंवत्लाई शक र शाकेको नाम जोड्दैमा लिच्छविसंवत् शक र शाके बनेको होइन ।

यही कुरा नबुझ्दा मोटामोटा पुस्तक लेख्ने विद्वानहरूले पनि ३०४ वर्ष मानदेवसंवत् चलेपछि नेपालसंवत् उठेको जस्ता गलत व्याख्यान गर्दै आए । यो कुरा घाममा ल्याइदिएपछि शकसंवत् ८०० वैशाखसम्म मानदेवसंवत् भने ३०१ वैशाख हुने रहेछ । तद्नुसार विक्रमसंवत् ९३५ वैशाखसम्म मानदेवसंवत् ३०१ वैशाख हुने रहेछ । शक ८०० बाट ८०१ हुंँदै गर्दा नेपालसंवत् उठेको देखापर्ने र वि.सं ९३५ बाट ९३६हुँदै गर्दा नेपालसंवत् देखापर्ने तर मानदेव संवत् भने कस्तो ?३०१ बाट ३०२ हँुंदैमा नेपालसंवत् देखा पर्न नहुने ३०४ नै भुक्त भएपछि मात्र देखा पर्नुपर्ने भनेपछि व्याख्या मिलेन। त्यसकारण मोटामोटा पुस्तक लेखिसकेँ भन्दैमा यस्तो गलत व्याख्यान गर्न पाइने होइन भन्ने यसले चरितार्थ गर्छ ।

तब संवत्को विषयमा आकाश पाताल एकसमान गर्न खोज्नेहरूले नेपालमा चलेको संवत्लाई अनेकौंजाल रचना गरी अव्यावहारिक देखाउँदै आएको रहेछ भन्ने देखियो । यसले यति लामो व्याख्यान गर्न थालियो कि संवत्को विषयमा उनीहरू जति जान्ने सुन्ने यो संसार मै छैन भन्ने जस्तोगरी धक्कु दिन पनि पछि परेको देखिएन । साथसाथै, उनीहरूको बुझाइमा शकसंवत् चैत्रादि माघादि र कार्तिकादि गरी तीन थरिका छन् । त्यसैले, शकसंवत् भनेको चैत्रादि मात्रै हुन्छ भन्नेहरूलाई ठाडै हाँक दिने गरिएको छ ।

लोकसेवाको जाँच दिन गएको एक परीक्षार्थीले प्रश्नमा सोधिएको बहादुर शाहको देन रहेकोमा उसले रणबहादुर शाहको बारेमा लेखेर आएछ । त्यस्तो राम्रोसँग लेखेरआउंँदा पनि फेल भयो भनेर कापी जाँच्नेलाई सत्तोसराप दिएर बसेछ । भनेझैं यहाँ इतिहासकार भनाउँदाहरू शकसंवत् र शाकेसंवत् उच्चारण गर्दा उस्तै देखेर एउटै हुन भनी लेख्दै आएका छन् । तर, उनीहरूले जतिसुकै मोटोमोटो पुस्तक लेखे पनि उनीहरू इतिहासमा फेल भएका छन् । यो भनेको बहादुर शाहको बारेमा लेख्नुपर्नेमा रणबहादुरशाहको लेखेरआए जस्तै हो ।

वास्तवमा नेपालसंवत्मा ८०० र ८०१ जोडेभने शकसंवत् आउँछ र नेपालसंवत्मा ८०२ जोडेपछि शाकेसंवत् (लिच्छविसंवत्) आउँछ भन्ने कुरा ख्याल गरिएको छैन । बहादुर शाहको बारेमा लेख भन्दा रणबहादुर शाहको बारेमा लेखिँदा रण शब्द मात्र बढी भएकोत होनि भनेर कुनै पार पाउने कुरा होइन । त्यस्तै, गरी शक र शाकेमा पनि एकलख र कान्नानीको मात्र हेरफेर भएको भनेर पार पाउने कुरा होइन ।

नेपालसंवत्मा अपव्याख्या

पहिलो गाँसमै ढुंगा भनेझैं नेपालसंवत्को शुरु मानदेवसंवत् ३०४ बितेपछि भएको भनेकै असत्य कुरा भएकोले यस्तै असत्यको आवरण दिइएपछि अविश्वास बढ्दै आएको हो । फेरि, नेपालसंवत् कहिल्यै चैत्रादिअनुसार व्यवहार भएको होइन । तर, चैत्रादि भएको भनेर अपव्याख्या गरिदिए यसले पनि अन्योल बनाइदिएको छ ।
नेपालसंवत् शुरुदेखि अहिलेसम्म महिना जहिले पनि शुक्लपक्षबाट शुरु भएर औंसीमा अन्त हुने भएकोले अमान्तमान यसका सिद्धान्त हुन् तर मोटामोटा पुस्तक लेख्नेहरूले तिथिमिति गणना गर्दा बार मिल्न आएन भने पूर्णिमान्तबाट मिल्न आयो भनी देखाएर थप अन्योल बनाउंदै आएको छ । मल्लकालमा नेपालसंवत् चारवर्ण छत्तिस जात त्यस भित्रका सयौं थरजात सवैले अपनत्व जनाउँंदै आएको स्पष्ट हुँदाहुँंदै शंखधरकृतसंवत् र ऋणमुक्त संवत् भनी अपुष्ट कथा रचना गरिदिँदा यो साँच्चै नेवारसंवत् पो हो कि भनी नेवारबाहेक अरुले अपनत्व गर्न छोड्दैछोड्दै आएको स्पष्ट छ ।

लिच्छविसंवत्मा अपव्याख्या

नेपालसंवत्जस्तै लिच्छविकालमा चलेको संवत् जसलाई लिच्छविसंवत् संज्ञा दिइएको छ । यसलाई अपव्याख्या गर्नेहरूले लिच्छविसंवत् संसारमा कतैपनि उल्लेख छैन भनी भ्रम फैलाउंदै आएको छ । लिच्छविकालमा चलेको संवत् लिच्छवि अभिलेखहरूमा कतै पनि लिच्छविसंवत् भनिएको छैन भन्ने कुरा कसलाई थाहा छैन र । लिच्छविकालका अभिलेखमा मात्र होइन मध्यकालका कतिपय अभिलेखमा पनि लिच्छविकालमा झैं संवत् मात्र भनिएको छ । तैपनि, मध्यकालमा चलेको संवत् नेपालसंवत् नै हो भन्न सकेको यथार्थ छँदै छ । लिच्छविकालमा चलेको संवत् पनि लिच्छविसंवत् भन्नु कुनै अन्यथा होइन । तर, लिच्छविसंवत्मा कुरा यत्तिमै मात्र सीमित छैन । शिवदेव अंशुवर्माको पालासम्म निरन्तर चलेको संवत् अंशुवर्माको एकल शासनकालमा आएर उनले अघि चल्दै आएको संवत्लाई पूर्णरूपमा पनि व्यवहारगरे भने संक्षिप्त गरेर पनि व्यवहार गरिदिँदा यसलाई लिएर अनेकौं अपव्याख्या गर्दै आए ।

जब नेपालसंवत् शुरु भए त्यति बेलासम्म लिच्छविकाल ८०२ वर्ष व्यतित भएको प्रष्ट हुन्छ । यही ८०२ वर्षभित्र शकसंवत् ४९८ वर्ष र ३०४ वर्ष मानदेवसंवत् चलेको जस्तो अपव्याख्या हुन पुग्यो ।यो कुरा व्याख्यान गर्नेहरूले एकातिर यो कुराको जिकिर जोडतोडले गरे अर्कोतिर शक ८०१ को कार्तिक शुकल प्रतिपदाको दिन नेपालसंवत्को उठान भएको पनि जोडतोडले गर्दै आए । यी दुई पक्षलाई एकै ठाउँमा राखी छिनोफानो गरी हेर्दा नेपालसंवत्मा ८०२ जोड्ने वालासंवत् लिच्छविसंवत् रहेछ भने नेपालसंवत्मा ८०० र ८०१ जोड्ने वाला संवत् शकसंवत् रहेछ भन्ने सहजै बुझिन आए । अतः नेपालसंवत् मात्र होइन लिच्छविकालमा चलेको संवत् पनि अनेकौं अपव्याख्या हुंँदै आएको हुँदा असत्य कुराले कति नराम्रोसँग प्रभाव पार्दै आएको रहेछ भन्ने देखिएको हो ।

उपसंहार

लिच्छविकालमा चलेको कार्तिकादि, अमान्तमान पद्धतिको संवत् शिवदेवको पालामा एकथरि र राजा अंशुवर्माकोपालामा अर्को थरि देखिएको भनी अपव्याख्याले गर्दा नै अन्योलता निम्तिएको हो । यही अन्योलता समस्याको रूपमा खडा भइदिँदा नेपालसंवत्को जन्म भयो । नेपालसंवत् शुरुमा संवत् मात्र कहलिए कालान्तरमा सकल नेपालीहरूको अपनत्व बढ्दै आएपछि नेपाल संवत नामाकरण हुनथाले, यही नामाकरणमा थप विकास हुंँदै नेपालदेशीय नेपाल आयन, नेपालसंवत्सर अनेकौं विशेषण बन्दैबन्दै संवत् ४९२ मा आएर बल्ल नेपालसंवत् कहलिएको तथ्य प्रमाण शिलालेखहरूबाटै प्राप्त हुन्छ । यही नेपालसंवत् ८८८ सम्म नेपालराष्ट्रको राष्ट्रिय संवत् भएर व्यवहारमा लागू भएको थियो । त्यसपछि एकीकृत नेपाल बनेपछि पुनः नेपालसंवत््मा ८०२ जोडिएको लिच्छविसंवत् १६९० नै व्यवहारमा लागू भयो । यो कुरा पृथ्वीनारायण शाहले कान्तिपुर जित्नेबित्तिकै प्रसारण गरेको मोहरमा १६९० अंकित गराएको प्रमाण नै प्रयाप्त हुन्छ ।

वास्तवमा नेपालसंवत् ८८८ भन्नु र लिच्छविसंवत् १६९० भन्नु एउटै वर्ष मात्र भएको होइन कि नेपालकै प्राचीन नेपालसंवत् प्रयोग गरिदिएर पृथ्वीनारायण शाहले नेपाललाई ठूलो गुण लगाए ।किनकि, नेपालमण्डलभित्र नेपालसंवत्को व्यवहार भए पनि नेपालमण्डल भन्दा बाहिर लिच्छवी शासन जहाँ–जहाँसम्म फैलिएको थियो ,ती ठाउँमा लिच्छविसंवत् नै व्यवहारमा लागू भएको थियो । तर, यो १६९० लिच्छविसंवत्लाई कालान्तरमा शाकेसंवत्को संज्ञा दिएर व्यवहारमा लागूभयो । यथार्थमा यी दुवै नेपालकै राष्ट्रिय संवत् हुन् ।

१६९० वाला लिच्छविकालको राष्ट्रिय संवत् थियो भने नेपालसंवत् ८८८ मध्यकालको राष्ट्रिय संवत् हो । दुर्भाग्यवश राणा प्रधानमन्त्री चन्द्रसमसेरको पालामा दुइटै राष्ट्रियसंवत् ओझेलमा पारी विक्रमसंवत्लाई उजागर गर्न पुगे ।उनले लिच्छवि कालदेखि चल्दै आएको संवत्लाई शाके र शक एउटै भन्नुको साथै कार्तिकादिलाई पनि चैत्रादि पद्धतिको बनाइदिएपछि नेपालको राष्ट्रियसंवत्को महत्वको तेजोवध गराइदिएभन्दा कुनै अत्युक्ति हुने छैन । यो कुरा अहिलेसम्मको मेरो अध्ययनले देखेको कुरा राखेको हो । यो मेरो कर्तव्य पनि हो । भविष्यमा इतिहासले यसको मूल्यांकन अवश्य गर्ला ।