नेपाल संवत्को नयाँ वर्ष किन मनाउने ?

0
Shares

हरेक वर्ष झैँ यो वर्ष पनि नेपाल संवत्को नयाँ वर्ष ११४४ हर्षोल्लास पूर्वक मनाइँदैछ । नेपाल संवत्को नयाँ वर्ष मनाउन हरेक वर्ष समारोह समिति नै गठन गरी वर्षैभरि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने चलन रहेको छ । यो वर्ष पनि ती सबै कार्यक्रमहरू सहित नयाँ वर्ष मनाइरहेको छ । यस उपलक्ष्यमा नयाँ वर्ष ११४४ को हार्दिक भिंतुना

कुनै पनि मुलुकमा कुनै पनि संवत्को नयाँ वर्ष मनाउनुको अर्थ के हुन्छ ?नयाँ वर्ष विशेषतः पुरानो वर्षलाई बिदाइ दिनुका साथ साथै शुरु भएको नयाँ वर्ष सुख, शान्ति, प्रगति र उल्लासले भरिपूर्ण होस् भन्ने कामनाका साथ मनाउने गरिन्छ । नयाँ वर्षको पहिलो दिन जसरी खुसी र रमाइलो गरिन्छ, पूरा वर्ष त्यसरी नै खुसी र रमाइलो पूर्वक बितोस् भन्ने हार्दिक कामना पनि यति बेला गर्ने गरिन्छ । यो नयाँ वर्ष मनाउने एउटा औपचारिक प्रचलन भन्दा फरक नपर्ला ।

    जहाँ सम्म नेपाल संवत्को नयाँ वर्षको प्रश्न छ, यो नयाँ वर्ष त्यसरी खुशी साट्ने र रमाइलो मनाउने कार्यमा मात्र सीमित छैन । यो नयाँ वर्ष मनाउने प्रचलन पूरै सांस्कृतिक छ । आज भन्दा ११४४ वर्ष अघि म्ह पूजाका दिन यो नेपाल संवत्को आरम्भ भयो । नेपाल संवत् आरम्भ हुनुको पछाडि शंखधर साख्वाःको गौरवमयगाथा जोडिएको छ । शंखधर साख्वाःआउनु अघि नेपाल संवत् अस्तित्वमा थिएन, तर नयाँ वर्ष भने थियो । म्ह पूजा त्यो नयाँ वर्षको पहिलो दिन हो ।त्यतिबेला म्ह पूजा गरी नयाँ वर्ष मनाउने चलन थियो । म्ह पूजा गरी मनाउँदै आइरहेको नयाँ वर्षलाई शंखधर साख्वाःको प्रयासमा एउटा नाम पनि दिन थालियो । त्यो नाम थियो– नेपाल संवत् ।

त्यसैले नेपाल संवत्को नयाँ वर्ष आजसम्मपनि म्ह पूजा गरी एक सांस्कृतिक स्वरुपमा मनाउँदै आइरहेको छ । आज भन्दा ४४ वर्ष अघि यो नयाँ वर्ष मनाउने शैलीमा एउटा अर्को मोड आयो । नेपाल संवत् नेपाली समाजको संस्कृतिसँग यति प्रगाढ रुपमा जोडिएको छ, तर यो संवत्लाई राज्यले भने कुनै मान्यता दिएको थिएन । नेपाल संवत् नामैले पनि नेपाली हो । त्यसमाथि यो नेपाली संस्कृतिको अभिन्न अंग पनि हो । तर राज्यले भने यो संवत्लाई एकातिर लत्याएर त्यसको ठाउँमा भारतबाट आयातित (अझ भारतले समेत त्यागी सकेको) विक्रम संवत्लाई व्यवहारमा ल्याइरहेको थियो ।

यो नेपाल र नेपालीपनलाई सुहाउँदो विषय थिएन । त्यसैले भाषा, संस्कृति र नेपालीपनको महत्त्व बुझेका तत्कालीन जागरुक अभियन्ताहरूले विक्रम संवत्को ठाउँमा नेपाल संवत्लाई प्रयोग गर्नुपर्छ र नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्छ भन्ने माग राखी एउटा सांस्कृतिक अभियान चलाए ।

 अहिले हरेक वर्ष मनाउँदै आइरहेको ‘न्हूदँया भिंतुना’त्यही सांस्कृतिक अभियानको निरन्तरता हो । नेपाल संवत्को सवालमा उठाइएका ती मागहरू पूरा गर्नुपर्ने निकाय राज्य हो । त्यसैले राज्यसँगै त्यो माग गरिएको थियो । राज्यसँग माग गरिएको कारण त्यो अभियान अलि अलि राजनीतिक पनि देखिएको थियो ।

आजको मितिसम्म आइपुग्दा त्यो सांस्कृतिक अभियानले उठाएका कतिपय माग पूरा भएका छन् । जस्तो नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरियो, नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरियो, तिहारको बिदामा नेपाल संवत् नयाँ वर्षको विदापनि जोडियो, यो संवत्को नयाँ वर्षमा आयोजना गरिने कार्यक्रमहरूमा राज्यका कार्यकारी प्रमुखहरू पनि समावेश हुन थाले, आदि आदि ।

 नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउनु थियो त्यो दिलाइहालियो त्यसैले अब नेपाल संवत्को नयाँ वर्षलाई यति उल्लासपूर्वक मनाउनु आवश्यक छैन भन्नेहरू पनि छन् । तर यथार्थ के हो भने नेपाल संवत्लाई राज्यले प्रदान गरेको यो राष्ट्रिय मान्यता व्यवहारमा भने अझै देखिएको छैन ।

 दैनिक व्यवहारको त कुरै छोडौं, सांकेतिक व्यवहारमा समेत त्यो देख्न सकिएको छैन। जस्तो कि राज्यले नेपाली मुद्रामा नेपाल संवत् पनि उल्लेख गर्ने प्रश्न । नेपाल सरह भित्र प्रयोग गर्न नेपालकै ढुकुटी मानिने नेपाल राष्ट्र बैंकले जारी गर्ने मुद्रामा नेपाल संवत् नै प्रयोग गर्न किन समस्या प¥यो ? नेपाली मुद्रामा नेपाल संवत् प्रयोग गर्नु भनेको कुनै नयाँ काम पनि होइन । हाम्रा मध्यकालीन मुद्राहरूमा नेपाल संवत् नै प्रयोग गरिएका छन् । अहिलेको सरकारले त्यसलाई पुन प्रयोग गर्ने मात्रै हो । पहिले प्रयोग हुँदै आइरहेको चलनलाई पुनर्स्थापना मात्र गर्न पनि राज्यलाई केको आपत्ति?यो काम राज्यले बिना कुनै विलम्ब तुरुन्तै गर्न सकिन्छ । नेपाल संवत्लाई राज्यले दिएको राष्ट्रिय मान्यता व्यवहारमा देखिन यो हुनु पनि पर्दछ ।

अर्को कुरा, नेपाल सरकारको मन्त्रिपरिषद् बैठकमा निर्णय गर्दा त्यसको माइन्युटमा नेपाल संवत् प्रयोग गर्ने प्रशंग पनि उठिरहेको छ । यो पनि कुनै ठूलो कुरा होइन । मन्त्रिपरिषद्को बैठकले कुनै अन्तर्राष्ट्रिय मामिला सम्बन्धी निर्णय गर्दा त्यसमा इस्वी संवत् प्रयोग गरेकै हुन्छ । इस्वी संवत् प्रयोग गर्न मिल्छ भने नेपाल संवत् प्रयोग गर्न नमिल्ने कारण छैन । क्यालेन्डर, पात्रो वा संवत्को एप्स हेरेर त्यो लेख्न सकिन्छ ।

अहिले कमसेकम पनि प्रधानमन्त्री कार्यालयले प्रयोग गर्ने लेटरहेडमा विक्रम संवत्को सँगसँगै नेपाल संवत्को मिति पनि राख्न सकिन्छ । यदि सरकारले चाहन्छ भने यही वर्षदेखि नेपाल संवत्को वर्ष मात्रै उल्लेख गरेर पनि यसको शुभारम्भ गर्न सकिन्छ ।

 यदि सरकारलाई लाग्छ कि नेपाल संवत् सम्बन्धी प्रचार प्रसार पुगेको छैन, ज्ञान पुगेको छैन, यसको लागि स्कुलमा पढाइने पाठ्य पुस्तकहरूमा नेपाल संवत्को एउटा अध्याय पनि अनिवार्य रुपमा राख्न दिनू । त्यो ज्ञान र प्रचार प्रसार पनि बस्दै जान्छ । जसले गर्दा अहिले सांकेतिक रुपमा गरिएको प्रयोगलाई भोलि व्यवहारिक मान्यता प्रदान गर्न सहयोग पु¥याउँछ ।

उपायहरू धेरै छन्, बस् इच्छाशक्तिको आवश्यकता छ । राज्यको इच्छाशक्ति भएमा असम्भव केही छैन । राज्यको इच्छाशक्ति जगाउन पनि नेपाल संवत्को नयाँ वर्षलाई जोडदारपूर्वक मनाउन अत्यावश्यक छ ।

माथि पनि उल्लेख भइसक्यो, नेपाल संवत्को नयाँ वर्ष एक सांस्कृतिक उत्सव हो । र, नेपाल एक विविध प्रकारका संस्कृतिहरूले भरिएको मुलुक हो । अतः नेपाल संवत्को नयाँ वर्ष मनाउनुको अर्थ यो मुलुकको सांस्कृतिक उत्सवलाई यथावत् राख्नु पनि हो । नयाँ वर्षको यो उत्सवले नागरिकलाई आफ्नो राष्ट्रिय संस्कृति, सम्पदा र कलासँगआत्मसात गर्ने अवसर प्रदानगर्दछ ।

यदि नयाँ वर्ष मनाउने यो उत्सवले नागरिकलाई देशको कला, संस्कृति, भाषा जस्ता सम्पदा जगेर्ना गर्नुपर्दछ भन्ने जागरण जगाउँछ भने यो उत्सवलाई अझै भव्यपूर्वक मनाउनु आवश्यक छ । नेपाल संवत् नेपालकै नामले स्थापित संवत् हो । त्यसैले यो संवत्को नयाँ वर्ष मनाउँदा नागरिकमा राष्ट्रियताको भावना पनि जागृत हुन पुग्दछ । एउटा कुनै संवत्को नयाँ वर्ष मनाएरै हामी नागरिकमा राष्ट्रियता, पहिचान, स्वाभिमान र सार्वभौमिकताको भाव जगाउन सक्छौँ भने त्यो संवत्को नयाँ वर्ष किन धुमधाम पूर्वक नमनाउने ?अहिले हामीसँग उपलब्ध त्यो भाव जगाउन सक्ने संवत् भनेको नेपाल संवत् मात्रै हो ।