बन्द भएको चार वर्षपछि मुस्ताङ–तिब्बत कोरला नाका खुल्यो

भित्रिन थाल्यो चिनिया समान

0
Shares

म्याग्दी। 

 छिमेकी मुलुक चीनसँग सीमा जोडिएको हिमालपारिको जिल्ला मुस्ताङको कोरला नाका आज (सोमबार)देखि पुनः सञ्चालनमा आएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारणले २०७६ सालदेखि बन्द अवस्थामा रहेको मुस्ताङ–तिब्बत कोरला नाका आजदेखि पुनः सुचारु भएको हो ।

 

दुई देशका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा एक समारोहबीच उद्घाटन गरी कोरला नाका खुलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। औपचारिक रुपमा नाका खुला गरिएपछि दुई देशको बीचमा व्यापारिक कारोबार पनि सुरु भएको उनले बताए । आर्थिक कारोबारका लागि मुस्ताङका एक हजारभन्दा बढी स्थानीयवासीलाई नाका प्रवेशका लागि अनुमतिपत्र उपलब्ध गराइएको छ ।

लामो समयपछि कोरला नाका खुलेसँगै नेपालतर्फ चिनिया सामानहरु भित्रिन थालेका छन् । नाका प्रवेश गर्ने अनुमतिपत्र पाएका स्थानीयवासीहरु ३० किलोमिटर परको चिनिया भूमिसम्म पुगेर सामान खरिद–बिक्री गर्न पाउने मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । तत्कालका लागि उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका एक हजारबढी स्थानीयलाई मात्रै प्रवेश पास दिइएको छ । कोरला नाका खुलेर चिनिया सामान आउन थालेपछि मुस्ताङीहरु उत्साहित भएका छन् ।

कोरला नाका सञ्चालन गर्न सीमा क्षेत्रमा नेपालतर्फ यसअघि चीनको सहयोगमा सुरक्षाकर्मीलाई लक्षित गरेर अस्थायी कन्टेनर स्थापना गरिएको थियो । चीनले उपलब्ध गराएको सो अस्थायी कन्टेनरभित्र आवश्यकताअनुसार नेपाली सुरक्षाकर्मीका लागि बसाई व्यवस्थापन मिलाइएको छ । कोरला नाकादेखि १४ किलोमिटर तल नेपाली भूमि नेचुङमा कस्टम, क्वारेन्टाइन, इमिग्रेसनलगायत सुरक्षाको व्यवस्थापन गरिएको छ ।

कोरला नाका खुलेपछि मुस्ताङ र तिब्बतको बीचमा व्यापार, व्यवसाय, आवतजावत र कारोबार सुरु भएको छ । कोरला नाकाबाट लत्ताकपडा, बिजुलीका सामान, पेयपदार्थ, दैनिक उपभोग्यलगायत चिनियाँ सामानहरु नेपालतर्फ आयात हुन्छन् । यसैगरी नेपाली सामानहरु भेडाको ऊन, पस्मिना, जिम्बुलगायत चीनतर्फ निर्यात हुन्छ । चाडबाडको समयमा भेडा–च्याङ्ग्रा पनि खरिद–बिक्री हुने मुस्ताङका व्यापारीहरु बताउँछन् ।

कोरला नाकाको पूर्वतर्फ चीन सरकारले स्थायी संरचना बनाएको भए पनि नेपालतर्फ भने अस्थायी संरचना पनि बन्न सकेको छैन । कोरोना महामारी फैलनुअघि नेपाल र चीनबीच वर्षमा दुई पटकसम्म अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो । हरेक वर्षको जुन र अगस्ट महिनामा हुने दुई देशको व्यापारीक मेलामा मुस्ताङी र चिनियाँ व्यापारीहरुले सामान साटासाट गर्नुका साथै बिक्री, वितरण गर्ने गर्दथे ।

गएको असोज पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको चीन भ्रमणको क्रममा चीनले नेपालसँग सीमा जोडिएका कोरलासहित १४ वटा नाका खोल्ने जनाएको थियो । नाका खुलेसँगै मुस्ताङीले सुपथ मूल्यमा चिनिया सामानहरु पाएका छन् ।