वन कर्मचारीकै योजनामा हिरासत छल्न बिरामीको बहाना



सिरहा। 

काठ तस्करीको आरोपमा पक्राउ परेका सिरहा गोलबजारका व्यवसायी हिरासत छल्न बिरामीको वाहानामा घर बसेका छन्।

वन कर्मचारीकै मिलेमतोमा गोलजार नगरपालिका ४ स्थित गौरव सःमिहलका सञ्चालक श्याम साहलाई हिरासत छल्न बिरामीको वाहानामा पर्व अवधिभरलाई आफन्तको जिम्मा लगाइएको हो।

गत शनिवार १८ गते ठूलो परीमाणमा प्रतिबन्धित करम जातको करिब दुईसय ५० क्युबिक फिट काठ सहित पक्राउ परेका साहलाई बिरामी परेपछि हिजो शनिबार उपचारको लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याएका थिए। अस्पतालमा पुर्‍याएका उनलाई थप उपचारको लागि बाहिर लग्नु पर्ने भन्दै रेफर गरेपनि साह अहिले आफ्नै घरमा रहेको स्रोतले जनाएको छ।

वन कार्यालयले उपचारका लागि साहको आफन्त पर्ने प्रादेशिक  अस्पतालका ल्याब असिस्टेन्ट कृष्णा गुप्ताको जिम्मा लगाएको डिभिजन वन कार्यालय लहानका वन कर्मचारी तथा यस घटनाका अनुसन्धान अधिकृत देवेन्द्र पासवानले जानकारी दिए।

उनले भने, ‘उनी बिरामी परेकाले उचारको लागि अस्पताल लगेका थियौँ,  अस्पतालका कर्मचारी उनको आफन्तसमेत रहेकाले उनकै जिम्मामा उपचार भइरहेको छ।’

वन कर्मचारीले उपचारमा रहेको भने पनि सःमिल सञ्चालक साह अहिले आफ्नै घरमा रहेको उनका एक आफन्तले बताए। हामीलाई सूचना दिने साहका आफन्तले तत्काल १५ लाख धरौटीमा छुटेको बताए।

साहको कहाँ उपचार भइरहेको छ भन्ने कुरा वन कर्मचारी र जिम्मा लिएका सहलाई समेत जानकारी छैन। वन कर्मचारीले उनका आफन्तलाई उपचारको लागि जिम्मा लगाएको बताए पनि जिम्मा लिएका उनका आफन्त कृष्णा गुप्तालाई सःमिल सञ्चालक कहाँ छन्  भन्ने जानकारी छैन।

यता डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले भने उनी बिरामी भएका र चाडपर्व पनि भएकाले व्यवहारिक्तालाई ख्याल गरेर तत्काल उनको आफन्तको जिम्मा लगाएर छोडिएको बताए।

वन कर्मचारीको बाझिएको भनाई र आफन्तले धरौटीमा छोडेको भन्ने विषयले आर्थिक चलखेलको गन्ध प्रस्ट हुन्छ।

वनकै एक कर्मचारीले अनुसन्धानको काम नै नसकिएकोले अहिले धरौटीमा छाड्ने सवाल नै नभएको बताए। उनले साह बिरामी भएकाले उपचारको लागि पठाइएको बताउँदै उनी घरमा रहेछ भन्ने तत्काल हिरासतमा फर्काउने बताए।

साहलाई शनिवार १८ गते उनकै सःमिलबाट प्रतिबन्धित करमजातको काठसहित पक्राउ गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्