३३ वर्षपछि साथीलाई भेट्दा

28
Shares

भर्खर भर्खर जवानीका रङ र अनेकन् उमङ्ग चढ्दै गरेका सङ्गीसाथी छुट्टिएर एक्कासि ३३ वर्षपछि भेट्दा सबैले सबैलाई शायदै चिने होलान् । लाली चढेको जवानी, भरभराउँदो शरीरमा देखिएका साथीहरुका फुलेका केश, चाउरी परेको अनुहार देख्दै अधिकांश एक अर्कालाई हेरेको हेरेई भए । कतिले पुनः एकअर्कामा परिचय पनि गरे । कास्कीको तत्कालीन ढिकुरपोखरीमा रहेको माछापुच्छ्रे माध्यमिक विद्यालयबाट २०४७ सालमा एसएलसी दिने विद्यार्थीहरुको जमघटमा देखिएको दृश्य हो यो । रोजी र रोटीका लागि जिन्दगीको पापड पेल्दै अर्धशताब्दी पार गरेका प्रौढहरुको भेला निकै रोचक देखिन्थ्यो । भेलामा अधिकाँशले नयाँ परिचय पनि दिए । आफूले ३३ वर्षे अवधिमा पाएका दुःख, हण्डर र सफलताका कथासम्म सेयरिङ्ग गर्न भ्याए ।

त्यसो त करिब आठ वर्षअघि यी साथीहरु सामाजिक सञ्जाल फेसबुक ग्रुपमा जोडिएका थिए । त्यसरी जोडिने अभियान पत्रकार टंकराज अधिकारीले आरम्भ गरेका थिए । यसरी ग्रुपमा जोडिए पनि जमघट हुने अवसर जुरेको थिएन । तर दीपावलीको शुभकामना साट्न उनै पत्रकार अधिकारीले भेलाको परिकल्पना गरे । र, आइतबार पोखरा २४ खड्गाउँस्थित मुनलार्ईट होमस्टे एण्ड क्यापिङ्ग साइटमा भेलाको संयोजन गरी साथीहरुको अुनभव र अनुभूति सुन्ने सुनाउने चाँजोपाँजो मिलाए । उनीहरु माछापुच्छ्रे मावि, ढिकुरपोखरी एसएलसी व्याची समूह–२०४७ लेखिएको व्यानरमा गोलबन्द हुँदै पालैपालो आ-आफ्नो भोगाई सुनाउँदै गए । ‘३३ वर्षपछि यसरी भेट भएर एक अर्कालाई पढ्दै, नियाल्दै र त्योबेलाको स्मरण गर्दै आफ्ना अनुभूति सुनाउन पाउँदा खुसी  लागेको छ । यो एउटा ऐतिहासिक अवसर हो,’ पूर्व विद्यार्थी एवं नेपाली काँग्रेस कास्कीका जिल्ला उपसभापति समेत रहेका युवराज कुँवरले भने ।

‘साथीहरुका अनुभव र अनुभूतिले नयाँ उमङ्ग थपेको छ,’ हामी यो समूहलाई थप सङ्गठित गर्दै रचनात्मक कार्यमा जुट्ने छौ, कुँवरले भने ।

जमघट भेलामा परिणत, आगामी फागुन १९ गते बृहत् भेला सहित वनभोज कार्यक्रम गर्ने

माछापुच्छ्रे मावि, ढिकुरपोखरी एसएलसी व्याची समूह–२०४७ को पहिलो भेटघाट भेलामा परिणत भएको छ । भेलाले ०४७ समूहका पूर्व विद्यार्थी टंकराज अधिकारी संयोजक रहने गरी ९ सदस्य सचिवालय गठन गरेको छ । सचिवालय सदस्यमा विष्णुप्रसाद शर्मा, हरिराम भण्डारी, नारायण बहादुर कुँवर, गणेश प्रसाद अधिकारी, हरिकुमारी केसी, सरस्वती अधिकारी, राजु प्रसाद दाहाल र देवनारायण पौडेल रहेका छन् ।

समूहले आगामी फागुन १९ गते बृहत् भेला सहित वनभोज कार्यक्रम गर्ने भएको छ ।

एसएलसी ब्याची समूह-२०४७ बिच एकता अझ मझबुत र प्रगाढ बनाउने उद्देश्यले बृहत् भेलासहित वनभोज कार्यक्रम गरिने भएको हो ।
उक्त वनभोज कार्यक्रम मार्फत साथीहरू विचको एकता र आत्मीयता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको समूहका संयोजक अधिकारीले बताए ।