जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ


काठमाडौं।
लमजुङ, मध्यनेपाल नगरपालिका-६ मिलनटोल बस्ने लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसमेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ६ सय ८५ रूपैयाँ १ बुक ताससहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१८ शसिनगरस्थित बिमल पराजुलीको गोठमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४६ वर्षीय प्रकाश विष्ट समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फुलबारी, ईलाका प्रहरी कार्यालय चनौली र अस्थायी प्रहरी चौकी शारदानगरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई नगद ३७ हजार ६ सय २५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

पर्सा, बहुदरमाई गाउँपालिका-४ बहुअरीस्थित बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय जोलेन्द्र प्रसाद यादव समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार ८ सय ५ रूपैयाँ र कैडा १ थानसहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ कहरे खोला बस्ने ३१ वर्षीय टंक प्रसाद पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ८ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।