इटहरीकी पृथ्वीया मिसेस नेपाल वल्र्ड

0
Shares

काठमाडौँ।

रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा सम्पन्न विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापा सोफी मिसेस नेपाल वल्र्ड २०२३ को उपाधि विजेता भएकी छन्।

लेखा परीक्षकका रूपमा सरकारी सेवा गर्दै आएकी थापाले मुख्य उपाधिका साथमा मस्ट ट्यालेन्टेडको उप–उपाधि पनि जितेकी छन्। थापाले मिसेस नेपाल वल्र्ड २०२३ भएवापत् आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्ने तथा एक स्कुटर प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। बुधबार राति राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनलका साथमा एन्ड पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उप–उपाधि विजेता भएकी छन्। उनले एक टेलिभिजन सेट तथा सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

भव्य मञ्च र प्रकाश व्यवस्थापन तथा सांगीतिक वातावरण्मा चमक दमकका साथ सम्पन्न प्रतियोगितामा सीता सुवेदी एमएस नेपाल इन्टरनेसनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस अवार्ड विजेता भएकी छन्। उनले यो उपाधि जितेवापत एक थान ओभनका साथमा सिंगापुरमा हुने एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। विजेतालाई मिसेस वल्र्ड २०२२ सरगम कौशलले ताज पहिराएकी थिइन्।

असम र युथ वेद सह प्रायोजक रहेको प्रतियोगितामा आइना गजुरेल फस्ट रनर्सअपका साथमा वेस्ट ¥याम्पवाक, निशा विष्ट सेकेन्ड रनर्सअप, सरु आरएल राणा थर्ड रनर्सअपका साथमा फेसन आइकन र आयुष्मा राई पब्लिक च्वाइस अवार्डका साथमा भ्युअर्स च्वाइस विजेता भएका छन्।

अश्विनीकान्त झाको कोरियोग्राफी, सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा सम्पन्न प्रतियोगितामा रेखा सिंह रायमाझी मिसेस टुरिजम एम्बेस्डर, उत्सुकता नकर्मी बेस्ट स्माइल, सलोनी श्रेष्ठ बेस्ट हेयर, जेनी खड्का ब्युटी विथ कम्प्याक्सन, कोमल लामा मस्ट डिसिप्लेन्ड, ज्ञानेश्वरी श्रेष्ठ फेसबुक च्वाइस अवार्ड र बेस्ट स्किन, पबिन श्रेष्ठ मिसेस कन्जिनियालिटी, मीना भट्टराई नेपाल टेलिकम मल्टीमिडिया च्वाइस अवार्ड, देवी थापा गुरुङ बेस्ट फिजिक, पुनम श्रेष्ठ मस्ट डिसिप्लेन, रेखा विष्ट पर्सनालिटी र उमंगली सिलवाल बेस्ट डान्स, उप–उपाधि विजेता भएका छन्।

 

प्रतियोगितामा सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिल, नेपाल प्रहरीकी एआईजीपी डा. आशा सिंह र अभिनेत्री सरिता लामिछाने निर्णायक रहेका थिए। गत वर्षको प्रतियोगितामा दीक्षा केसी मिसेस नेपाल वल्र्ड र अभिनेत्री उषा रजक मिसेस नेपाल इन्टरनेसनल भएका थिए। कार्यक्रममा नेपालकै प्रथम नायिका भुवन चन्द थापालाई मानार्थ मिसेस नेपाल वल्र्ड तथा मुस्कान खातुनलाई विशेष सम्मान गरिएको थियो।