एकैदिन दस जना फरार प्रतिवादी पक्राउ

0
Shares

उदयपुर ।

उदयपुरको बेलका नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले विभिन्न मुद्दाका एकैदिन १० जना फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ । एकैदिन यसरी ठूलो संख्यामा फरार प्रतिवादीहरु पक्राउ गरेको यो पहिलो पटक भएको र प्रहरीको ठूलो सफता पनि मानिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालत उदयपुरले विभिन्न मितिमा भएको फैसला अनुसार सजाय तथा जरिवाना तोकेकोमा फरार अवस्थामा रहेका थिए ।

यसरी पक्राउ पर्नेहरुमा वन मुद्दाका ६ जना र गाली बेइज्जती मुद्दाका ४ जना रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार वन मुद्दामा उदयपुर जिल्ला अदालतबाट मिति २०७१ जेष्ठ २१ गतेको फैसलाले २ महिना २० दिन कैद सजाय र ४५ हजार ९६ रुपैया जरिवाना तोकिएका बेलका नपा १ बस्ने गोविन्द ठाकुरलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।

यसैगरी वन मुद्दामै मिति २०७३ असार १६ गतेको फैसलाले जनही २ महिना कैद सजाय तोकिएका बेलका नपा १ का चन्द्र बहादुर ररोक्का कार्की, सोही ठाउँका बुद्धिमान तामाङ, चन्द्रमान तामाङ रहेका छन् । सोही ठाउँका अर्का बेलका नपा २ का जय प्रकाश चौधरीलाई भने२९ हजार ३६२ रुपैया जरिवाना तोकिएको थियो भने सोही ठाउँ बस्ने महेन्द्र राईलाई १७ दिन कैद सजाय तोकिएको थियो ।

यसै गरी गाली बेइज्ज्ती मुद्दामा जिल्ला अदालत उदयपुरले मिति २०७३ चैत्र ५ गते जनही ५०० जरिवाना तोकिएका बेलका नगर पालिका २ बस्ने सहदेव चौधरी, संगीता चौधरी,सरिता चौधरी,र मान्ती चौधरीलाई समेत पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।