१७० किलोमिटर लामो ‘मञ्जुश्री ट्रेल रेस’ शुक्रबारदेखि

0
Shares

काठमाडौँ।

१७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण शुक्रबार शुरु हुँदैछ।
काठमाडौंको दहचोकस्थित कालु पाण्डे स्मारकबाट दौड सुरू हुनेछ । यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाइ छ ।

मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीको लागी झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता हुनेछ । सबै दौडहरू दह चोक स्थित कालु पाण्डे स्मार्कमै पुगेर सकिनेछन् ।

दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रोस (युटिएमआर)’ मा सहभागी हुने अवसर पाउनेछन् । सो अवसरमा उनीहरूको अर्थिक लगायत सम्पूर्ण व्यवस्थापनको सम्योजन मञ्जुश्री ट्रेल रेसले गर्ने छ ।

बिजेताले नगद र प्रमाणपत्रसहित ‘एड्भेन्चर गियर’ पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले बताएको छ ।

रेसको गत वर्षको सँस्करणमा ४२ जना नेपाली र ३१ जना बिदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए ।

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रुट छिचोले । जिमी, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको बिकल्पिक रुटहरूसहित नक्साङ्कन गरेका थिए । बिभिन चरणमा विभिन्न ब्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

आयोजकका अनुसार दौडको रुटमा १९ चेक पोइन्ट रहेको छ । कालु पाण्डे स्मारकबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिपले, गोर्जे भन्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भन्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाण्डे स्मारकमा नै पुगेर सम्पन्न हुनेछ।

मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामिण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी सहासिक खेल पर्यटकका लागि आकर्षण बनेको छ । हिमालय शृङ्खला, काठमाडौं उपत्यका, जंगल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।