महिला हिंसा निवारणका लागि  २१ बुँदे प्रस्ताव 

0
Shares

धादिङ । 

महिला हिंसा निवारणका लागि राष्ट्रिय महिला आयोगले रणनीति बनाएर काम गर्ने राष्ट्रिय महिला आयोगका सदस्य सावित्री कुमारी शर्माले बताएकी छिन्।
बुधवार महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठकमा  सो कुरा बताएकी हुन्।

बागमती प्रदेशको प्रतिनिधित्व गर्दै धादिङमा गरिएको छलफलमा सहभागीहरूले महिला हिंसा निवारणका लागि २१ बुँदे रणनीतिक योजना छलफल गरी सुझावका लागि पठाएको छ ।

रणनीतिक योजना बैठकले स्थानीय लैङ्गिक हिंसा निवारण काेष सञ्चालन समिति बनाउन सघाउने, फास्ट ट्याक कोर्ट अन्तर्गत व्यवहारिक रुपमा काम गर्ने  प्रक्रियामा सघाउने, अन्तर्राष्ट्रिय स्तरकाे सरकारी तवरबाट महिला सुरक्षा आवास गृह बनाउन पहल गर्ने, लैङ्गिक समानता सामाजिक समावेशीकरण अनुसन्धान, अभियोजन गर्न संयाेजन गर्ने, जिल्ला तहमा महिला बालबालिका सम्पर्क समन्वय इकाई राख्न माग गर्ने, पीडित सहयोग कार्यगत प्रणालीका लागि सिफारिस गर्ने, प्रहरी र स्थानीय जनप्रतिनिधि बिच लैङ्गिक समानता सामाजिक समावेशीकरण सम्बन्धी तालिम चलाउने, पीडितलाई आत्मनिर्भरताका लागि सीप विकास तालिम सञ्चालन गर्न सिफारिस गर्ने लगायतका विषय सिफारिस गर्ने निष्कर्ष निकालेको छ ।

रणनीतिक बैठकमा भएका छलफल र यसका निष्कर्षलाई महिला आयोगमा लगेर निर्णय गराएर कार्यान्वयनमा लाग्ने महिला आयोग सदस्य शर्माले बताइन् ।

जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैह्रे, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा, लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले महिला हिंसा सम्बन्धी तथ्याङ्क सहितको कार्यपत्र प्रस्तुत गरे ।

जिल्ला प्रहरी कार्यालयमा आव २०७९/८० र ०८०/८१ को  ३ महिनामा कुटपिटका ३९, पालनपोषण नगरेको २६, शारीरिक र मानसिक यातनाका ३, झै झगडाका १७, र गाली गलाैजका २ घटना रहेको छ ।

यसैगरी जबरजस्ती करणीका २७, हाडनाता करणीका ५, जबर्जस्ती करणीका उद्योगका १३, मानव बेचबिखनका ४ र बालयाैन दुरुपयोगका २ ओटा घटना रहेको मिश्रले जानकारी दिए ।