टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

0
Shares

पाल्पा।

जिल्लाको निस्दी गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । बुधबार विहान भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपरको अचानक ब्रेक फेल भइ दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार मृत्यु हुुनेमा पूर्वखोला गाउँपालिका –२ जल्पाकी १९ वर्षीया दिल कुमारी आले छन । टिपरबाट हाम फाल्ने क्रममा सोही टिपरको टायरले किच्दा आलेको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी निस्दी गाउँपालिका –७ की २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनोहरी गाउँपालिका– ९ का २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुर हेटौडा –९ का २४ वर्षीय आशिष सुनार घाइते भएका छन् । घाइते आलेलाई टिपरबाट हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको छ । चालक र सह चालकको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उद्धार गरी उपचारको लागि नवलपुर पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।