भूकम्पपीडितका लागि चीनले दियो झन्डै ४० करोड बराबरको राहत सामग्री  

0
Shares

पोखरा ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत् जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे ।

 नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

 त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो  दु:ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा  समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैं साथसहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेकाे उनले बताए ।

 दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा २ हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्। बुधबार बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइनेछ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा  पठाउने तयारी छ।