चीनबाट आएको राहत सामग्री गृहमन्त्रीलाई हस्तान्तरण

0
Shares

पोखरा।

चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडिलाई करिब २८ करोडको राहत हस्तान्तरण गरेको छ । चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पोखरामा आयोजित एक समारोहमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

राहत लिएर दुई चिनियाँ विमान बुधबार पोखरा विमानस्थलमा आएका थिए । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले चार हजार छ सय थान ब्याङकेट र छ सय थान टेन्ट चिनियाँ सरकारले प्रदान गरेको जानकारी दिए ।

राहत बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले ती सामान बुधबारै भूकम्प प्रभावित क्षेत्रमा पठाइने उल्लेख गरे ।

राजदूत सङले भूकम्पको क्षतिमा नेपाली सरह दुःख अनुभूति भएको बताए । उनले बुधबार प्रदान गरिएको सहयोगका अतिरिक्त चिनियाँ रेडक्रसले छुट्टै राहतसमेत प्रदान गर्ने उल्लेख गरे । “शताब्दीऔंदेखि रहँदै आएको नेपाल र चीनको मित्रता निभाउँदै हामीले मानवीय सहयोग गरेका हौँ । बेल्ट एन्ड रोड अवधारणमा अन्तर्गत नेपालमा धेरै काम गरिरहेका छौँ ।”

यसअघि नै चीनले केरुङ नाका हुँदै झण्डै १० करोडका २३ ट्रक राहत सामग्री पठाइसकेको छ । गएको शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ।