गएरातिदेखि ८ सय वटा आईफोन-१५मा सेवा बन्द

थप ४ हजार वटामा बन्द हुँदै

0
Shares

काठमाडौं । 

अन्ततः मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार राति ९ बजेपछि दर्ता नभएका फोन ब्लक गर्दै एमडीएमएस प्रणाली कार्यान्वयन गरेको हो ।

प्राधिकरणले यसअघि पुस १५ देखि नै एमडीएमएस लागू गर्ने  घोषणा गरेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको दबाब कारण सो प्रणाली तत्कालका लागि स्थगित गरिएको थियो ।

प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका ८०४ वटा आईफोन– १५  मोबाइल फोनमा दूरसञ्चार सेवा बन्द गरेको छ ।

प्राधिकरणले एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद दिएर दर्ता गर्न एसएमएसमार्फत आग्रह गर्नेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछन् । सोही प्रक्रिया अनुसार  आईफोन–१५ मा बन्द गरिएको हो । अब एमडिएमएसमा दर्ता नभएका फोन क्रमशः नचल्ने प्राधिकरणले जनाएको छ । अब क्रमशः आइफोन–१४, आईफोन–१३ लगायतका सिरजका फोन पनि बन्द हुँदै जाने छन् ।

प्राधिकरण स्रोतका अनुसार  महँगो मूल्य रहेका तर दर्ता नभएकामा  करिब चार हजार वटा मोबाइल रहेको र ती मोबाइल बन्द हुने क्रममा रहेका छन् ।
एमडीएमएमा दर्ता नभएका फोनमा सिम नचले पनि वाइफाई भने चल्ने छ ।

एमडीएमएमा दर्ता हुन अर्थ मन्त्रालयले एक लाख रुपियाँभन्दा बढी मूल्यका र आईफोनका लागि प्रतिफोन सेट १० हजार रुपियाँ राजस्व तोकेका छ । त्यस्तै अन्य स्मार्टफोनका लागि प्रतिफोन सेट ३ हजार रुपियाँ शुल्क तोकेको छ । साधारण मोबाइलले प्रतिसेट २ सय रुपियाँ राजस्व भुक्तानी गरी एमडीएमएस प्रणालीमा दर्ता हुन सक्नेछन् ।

हाल सेवा बन्द भएका मोबाइल प्रयोगकर्ताले राजस्व बुझाएर पुनः चलाउन भने पाउने प्राधिकरणले जनाएको छ ।