लोकतन्त्रमा जिम्मेवार सरकारको अनुभूत हुने गरी काम गर्न जनप्रतिनिधहरुलाई आग्रह

0
Shares

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुनेगरी भूकम्प प्रभावितहरुलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधहरुलाई आग्रह गरेका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न  मंगलबार जाजरकोट पुगेका  राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरुसँगको छलफलमा अहिले नै सबै कुरा सोचविचार गरेर काम गर्न ध्यान दिनुपर्ने बताए ।

उनले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुक्क्याउनेजस्ता गलत काम हुन सक्ने हुँदा त्यसबाट सचेत र सर्तक रहन पनि आग्रह गरे । “तपाईहरुको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्”, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

यसअघि राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनएका छन् । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । उनले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपतिको भनाई उद्धृत गर्दै सल्लाहकार पोखरेलले भने–‘तपाईहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए । त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।

गत शुक्रवार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको  आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन्।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन् ।